भारतीय सेनाको हेलिकोप्टरमा यात्रारत १४ मध्ये १३ जनाको मृत्यु भएको पुष्टि

भारतीय सेनाको हेलिकोप्टरमा यात्रारत १४ मध्ये १३ जनाको मृत्यु भएको पुष्टि


भारतीय सेना प्रमुख विपिन रावत र उनकी पत्नी बोकेको भारतीय वायुसेनाको दुर्घटनाग्रस्त सैन्य हेलिकोप्टरमा यात्रारत १४ जनामध्ये १३ जनाको मृत्यु भएको पुष्टि भएको छ । बुधबार तमिलनाडुको निलगिरि पहाडी जिल्लाको कूनरनजिकै हेलिकोप्टर दुर्घटना भएको थियो ।

एएनआईका अनुसार डीएनए परीक्षणमार्फत शवको पहिचान पुष्टि हुनेछ । छानबिनको आदेश भए पनि सीडीएस रावत, उनकी श्रीमती र अन्य सैनिक कर्मचारी बोकेको आईएएफको एमआई–१७–भी–५ हेलिकोप्टर दुर्घटनाबारे सरकारले बिहीबार मात्र संसद्लाई जानकारी गराउने छ ।

विमान कोयम्बटोरस्थित सुलुर आईएएफ सैन्य शिविरबाट बेलिङ्गटनस्थित ‘डिफेन्स स्टाफ कलेज’तर्फ जाँदै थियो ।

यसक्रममा बुधबार नै रक्षामन्त्री राजानाथ सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुर्घटनाबारे जानकारी गराएका थिए । भारतीय प्रधानमन्त्री मोदीले घटनाबारे प्रतिक्रिया दिँदै ट्वीटमा सैनिक हेलिकोप्टर दुर्घटनाले आफूलाई स्तब्ध बनाएको उल्लेख गरेका छन् ।

हेलिकोप्टर दुर्घटना भएको ठाउँबाट निकालिएका शवहरू सैनिक अस्पताल बेलिङ्गटन लगिएको छ ।

ज्ञातव्य छ, यसअघि तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार कार्यमा आवश्यक सबै सहयोग उपलब्ध गराउन स्थानीय प्रशासनलाई निर्देशन दिइएको जानकारी गराएका थिए ।

प्रारम्भिक जानकारीमा तामिलनाडुका वनमन्त्री के रामचन्द्रनले भने दुर्घटनामा सवार पाँच जनाको मृत्यु भएको बताएका थिए ।

दुर्घटनाग्रस्त हलिकोप्टरमा सवार जनरल रावतसहित मृतक सैनिक तथा कर्मचारीहरूको नामावली भारतीय वायु सेवाले सार्वजनिक गरिसकेको छ ।

दुर्घटनामा सीडीएस जनरल रावत र उनकी पत्नी मधुरिका रावत, ब्रिगेडियर एलएस लिडर, लेफ्टिनेन्ट कर्नल हरजिन्दर सिंह, एनके गुरसेवक सिंह, एनके जितेन्द्र कुमार, एल/एनके विवेक कुमार, एल/एनके बी साई तेजा र हाव सत्पाललगायत विमानमा सवार थिए ।