कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार

कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार



महाधिवेशनको प्रचारप्रसार व्यापक बनाइँदै

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार (मङ्सिर २३) बिहान ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालय बस्ने भएको छ ।

बैठकमा शुक्रबारदेखि सुरु हुने पार्टीको १४औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

प्रचारप्रसार व्यापक बनाइँदै

नेपाली कांग्रेसले शुक्रबारदेखि सुरु हुने पार्टीको १४औँ महाधिवेशनको प्रचारप्रसारलाई व्यवस्थितरुपमा अघि बढाउन पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेकोे प्रचारप्रसार समितिअन्तर्गत आज विभिन्न जिम्मेवारी तोकेको छ ।

समितिले डा. सुरेश आचार्यलाई मिडिया सेन्टर संयोजक, बद्री सिग्देललाई प्रेस सङ्घ-सङ्गठन समन्वय संयोजक, समीरजङ्ग शाहलाई अनलाइन समन्वय संयोजक, दिपेश विष्टलाई सामाजिक सञ्जाल समन्वय संयोजक, शिव लम्साललाई मोफसल मिडिया सम्पर्क प्रचार संयोजक, दीपक आचार्यलाई उपत्यका प्रिन्ट मिडिया संयोजक, सरोज अधिकारीलाई बिट समन्वय संयोजक र नीर शाहलाई टेलिभिजन समन्वय संयोजक तोकिएको छ ।

पार्टी कार्यालयका सचिव प्रकाश शर्माका अनुसार रेडियो समन्वय संयोजकमा गोपाल झा, बौद्धिक क्षेत्र प्रचार समन्वय संयोजकमा डा. अञ्जनी झा, महिला प्रचार समन्वय संयोजकमा अञ्जना अर्याल, युवा प्रचार समन्वय संयोजकमा विकल राई, महाधिवेशनस्थल काठमाडौं महानगर प्रचार समन्वय संयोजकमा निलकाजी शाक्य, सामाजिक सङ्घसंस्था प्रचार समन्वय संयोजकमा फूलकुमार लालवानी, प्रवास क्षेत्र प्रचार समन्वय संयोजकमा विमल सुवेदी, स्वागतद्वार र शृङ्गार संयोजकमा गोविन्द पुडासैनी, कला संयोजकमा मीन भाम र डिजिटल बोर्ड प्रचार संयोजकमा सुशन वैद्यलाई तोकिएको छ ।