‘एक्सिट्रमको वर्ल्ड टुर ट्रयायथलन’को ब्रान्ड एम्बासडर सोनी

‘एक्सिट्रमको वर्ल्ड टुर ट्रयायथलन’को ब्रान्ड एम्बासडर सोनी



हिमालयन एक्स्ट्रिमको आयोजनामा नेपालमा पहिलो पटक हुन लागेको ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्रायथलन’ मा १३औँ दक्षिण एसियाली खेलकुदकी स्वर्णविजेता खेलाडी सोनी गुरुङ ब्रान्ड एम्बेसडर चुनिएकी छन् । प्रतियोगिता सन् २०२२ को मे ७ मा पोखरामा हुँदैछ ।

प्रतियोगिताको एस्ट्रिम पक्ष भनेको फेवतालमा ३.५ किमी पौडी, १८० किलोमिटर साइक्लिङ र ४३ किलोमिटर दौड हुनेछ ।

विश्वभरीका करिव १ सय प्रतियोगीहरुको सहभागिता हुने उक्त एक्स्ट्रिम रेश नेपालमा पहिलो पटक हुन लागेको हो ।

स्वर्णधारी खेलाडी सोनी गुरुङ ‘आइकन’ खेलाडी भएकीले उनलाई ब्राण्ड एम्बेसडर बनाएको आयोजक हिमालयन एक्स्टिमका रेस डाइरेक्टर रिक्की योञ्जनले बताए । सशस्त्र प्रहरी बल (एपीएफ)की खेलाडी सोनीले उक्त प्रतियोगितामा प्रतिस्पर्धा पनि गर्नेछिन् ।

एम्बेसडर सोनीलाई प्रतियोगिता खेल्न आवश्यक पर्ने ड्रेस स्विमिङ (वेट सुट) सुट, टिसर्ट, जुत्ता लगायतका कस्ट्युम सामग्री मंगलबार प्रतियोगिता आयोजक संस्थाका को-रेस डाइरेक्टर रिकेश योञ्जनले हस्तान्तरण गरे ।

उक्त सामग्री विश्व प्रख्यात ‘हुब’ कम्पनीको रहेको र यसले सोनीलाई प्रतिस्पर्धामा सहयोग पुग्ने आयोजकले जनाएको छ ।

६ वर्ष देखि एफिएफमा कार्यरत सोनी धादिङमा जन्मिएकी खेलाडी हुन् । २७ वर्षिया सोनी विगत ७ वर्षदेखि ट्रायथोलन खेलमा आवद्ध छिन् । उनी आठौ राष्ट्रिय खेलकुदकी स्वर्ण पदक विजेता पनि हुन् ।

ब्राण्ड एम्बेसडर चुनिएपछि सोनीले नेपालमा पहिलो पटक हुन लागेको ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्रायथलन’ मा सहभागी हुन पाउँदा निकै गर्व लागेको बताइन् ।

उनले भनिन– विश्वका एकसे एक एथलिटहरुसंग आफ्नै देशमा सहभागी हुन पाउनु आफ्नो लागि मात्रै नभई देशकै लागि गौरवको कुरा हो ।
प्रतियोगिताका लागि विगत ५ महिनादेखि निरन्तर रुपमा अभ्यासमा जुटेकी सोनीले आफूले सोचेको सपना पुरा गर्नेतर्फ लागि परेको बताइन् । ‘यो हामीले खेलिरहेको भन्दा निकै कठिन र जोखिमपूर्ण प्रतियोगिता हो’ उनी भन्छिन्- ‘नेपाली खेलाडीहरु कठिन संघर्षकाबीच पनि देशको झण्डा उठाउन कुनै कसर बाँकी राख्दैनन् भन्ने कुरालाई म थप चरितार्थ गर्दै देशका लागि केही योगदान गर्न चाहन्छु ।’

दुई वर्षअघि आयोजना हुने तय भएको उक्त प्रतियोगिता कोभिड १९ का कारण स्थगित हुन पुगेको थियो । ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्रायथलन’ विश्वकै साहसिक प्रतियोगिताका रुपमा चिनिने गर्दछ ।

युरोपका विभिन्न देशहरुमा यो प्रतियोगिता वर्षेनी आयोजना हुँदै आए पनि एसियामा भने पहिलो पटक आयोजना हुन लागेको हो आयोजकले जनाएको छ ।