बुटवल उपमहानगरपालिका उपमेयर कप अन्तरपालिकास्तरीय राष्ट्रिय महिला भलिबल प्रतियोगिता–२०७८ बिहीबारदेखि सुरु भएको छ ।
देवीनगरस्थित कदरबहादुर रीता रायमाझी आद्योगिक माविमा सुरु भएको प्रतियोगितामा बेनी, तिलोत्तमा, बुटवल र वीरेन्द्रनगरले विजयी सुरुआत गरेका छन् । बेनी नगरपालिका, म्याग्दीले भीमदत्त नगरपालिका कञ्चनपुरमाथि २–० को सोझो सेटमा जित दर्ता गरेको हो । यसैगरी दोस्रो खेलमा तिलोत्तमाले कोहलपुर नगरपालिकालाई पराजित गर्दै स्पष्ट जित निकालेको छ । अर्को खेलमा आयोजक बुटवल उपमहानगरले गोदावरी नगरपालिकालाई पराजित गरेको छ ।
यस्तै, वीरेन्द्रनगर नगरपालिका सुर्खेतले टीकापुर नगरपालिकामाथि २–१ को जित निकालेको छ । प्रतियोगिताको उपाधि विजेताले नगद रु एक लाख ५० हजार, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेता समूहले रु ७५ हजार, कप, मेडल तथा प्रमाणपत्र, तृतीय हुनेले नगद रु ३५ हजार तथा चौथो हुने समूहलाई सान्त्वना पुरस्कार रु १५ हजार प्रदान गरिने खेल संयोजक अर्जुन घिमिरेले जानकारी दिएका छन् ।
लिग कम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा विभिन्न जिल्लाका १० समूहले भाग लिएका छन् । प्रतियोगिता तीन दिनसम्म चल्ने छ ।
प्रतिक्रिया