नाइजेरियाली मस्जिदमा बन्दुकधारी समूहको आक्रमण, कम्तीमा नौ जनाको मृत्यु

नाइजेरियाली मस्जिदमा बन्दुकधारी समूहको आक्रमण, कम्तीमा नौ जनाको मृत्यु



नाइजेरियाको मध्य राज्य नाइजरमा रहेको एक मस्जिदमा बन्दुकधारीहरुले गरेको अन्धाधुन्ध आक्रमणमा परी कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार पुष्टि गरेको छ । स्थानीय बासिन्दाले भने आक्रमणमा परी कम्तीमा १६ जनाको मृत्यु भएको बताएका छन् ।

यस आक्रमणको कारण तत्काल थाहा हुन सकेको छैन । स्थानीय स्तरमा ‘ब्यान्डिट्स’ भनेर चिनिने अपराधीहरूको गिरोहले उत्तरपश्चिम र मध्य नाइजेरियाका समुदायहरूलाई वर्षौंदेखि आतङ्कित पार्दै आएकोले यसमा पनि उनीहरूको संलग्नता रहेको हुनसक्ने आशङ्का गरिएको छ ।

स्थानीय प्रहरी प्रमुख मण्डे बाला कुर्यासले भने, ‘मोटरसाइकलमा भारी सशस्त्र मानिसहरूले माशेगु जिल्लाको दुर्गम बाको गाउँमा उपासकहरूले प्रार्थना गरिरहेको बेला बुधबार मस्जिदमा आक्रमण गरेका हुन् ।’

‘आक्रमणकारीहरूले मस्जिदभित्र नौ मुस्लिम उपासकहरूको हत्या गरे र अरू केही घाइते भए,’ कुरायसले भने ।

घटनापछि घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ भने प्रहरी र नागरिक सुरक्षा अर्धसैनिक कर्मचारीहरूको संयुक्त टोली त्यस क्षेत्रमा खटाइएको एक प्रहरी अधिकृतले बताए ।

आक्रमणपछि मस्जिदबाट १६ वटा शव सङ्कलन गरेको स्थानीयवासी अमादु हमिसुले बताए । हमिसुलाई उद्धत गर्दै एएफपीले जनाएअनुसार मस्जिदमा प्रार्थना गरिरहेका जम्मा १६ जनाको मृत्यु भएको छ, उनीहरूको लास मस्जिदबाट निकालिसकिएको छ ।