अमेरिकी राज्य केन्टकीमा आँधीका कारण कम्तीमा ५० जनाको मृत्यु

अमेरिकी राज्य केन्टकीमा आँधीका कारण कम्तीमा ५० जनाको मृत्यु



अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीमा आएको आँधीबेहरीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार शनिबार बिहानै सुरू भएको आँधीले देशका विभिन्न भागमा तहसनहस बनाएको केन्टकीका गभर्नरले शनिबार जानकारी गराएका छन् ।

गभर्नर एण्डी बेशरले भनेका छन्, ‘केन्टकीका धेरै काउन्टीहरू राज्यबाट ३०० किलोमिटरकाभन्दा बढी क्षेत्रमा फैलिएको आँधीबेहरीका कारण तहसनहस भएका छन् । थप विवरणहरू आउने क्रम जारी रहेकोले क्षतिको एकीन विवरण आउन अझै केही समय लाग्ने देखिएको छ ।’

मिसौरी, अर्कान्सास, केन्टकी र टेनेसीमा आँधीको बढी प्रभाव परेको एएफपीले जनाएको छ ।

सोही रात इलिनोइ राज्यस्थित अमेजन कम्पनीको गोदाममा हुरीबतास चल्दा करिब १०० जना कामदार कम्पनीको गोदामभित्र थुनिएका स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

‘मेरो विचारमा करिब ५० भन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् । आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या ७० देखि १०० को बीचमा रहेका अपुष्ट खबरहरू प्राप्त भएका’, बेशरलेभनेका छन् ।

आँधीले पुऱ्याएको उक्त क्षति केन्टकीको इतिहासमा ‘गम्भीर तहसनहसको घटना’ भएको उनको भनाइ छ ।

आँधीका कारण मेफील्ड शहरमा एउटा मैनबत्ती कारखानाको छाना भत्किएको र ठूलो सङ्ख्यामा क्षति भएको गभर्नर बेशरले बताएका छन् ।

मेफील्डबाट सामाजिक सञ्जालमा पोष्ट गरिएका तस्वीर तथा भिडियोहरूले आँधीले भवनहरू टुक्रा-टुक्रा पारेको देखाइएको छ । आँधीपछि सडकमा फलाम, रूख र इटाका टुक्राहरू छरिएका छन् ।

अमेरिकी समाचार च्यानलहरूमा सम्प्रेषित दृश्यचित्रहरूमा आँधीले धुलोको कालो मुस्लो जमिनबाट माथिसम्म उडाएको देखाइएको छ । बेशरले मध्यरातअघि नै आफूले केन्टुकीका कारण सङ्कट निम्त्याएको घोषणा गरेको बताए। त्यस क्षेत्रमा विद्युत् विनाश जारी रहँदा मानिसहरूको ज्यान जोगाउन थुप्रै खोज तथा उद्धार अधिकारीहरू पठाइएको कुरा पनि उनले जनाएका छन् ।