आइटिएफ वर्ल्ड टेनिस : महिला एकलतर्फ सलोनी तामाङलाई उपाधि

आइटिएफ वर्ल्ड टेनिस : महिला एकलतर्फ सलोनी तामाङलाई उपाधि


‘आइटिएफ गर्ल्स/ब्वाइज यू–१८ वर्ल्ड ऱ्याङकिङ टेनिस टुर जे–५ सर्किट–२’ अन्तर्गत महिला एकलतर्फ नेपालका सलोनी तामाङले उपाधि जितेकी छन् । पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा शनिबार सम्पन्न फाइनलमा नेपालकै सर्भानी श्रेष्ठलाई टाइब्रेकरमा पराजित गर्दै तामाङले उपाधि हासिल गरेकी हुन् ।

खेलको पहिलो सेट ६–४ अङ्कले आफ्नो पक्षमा पारेकी तामाङले दोस्रो सेट ४–६ अङ्कले गुमाएकोमा अन्तिम तथा फाइनल सेट ६–१ अङ्कले आफ्नो पक्षमा पार्न सफल भइन् । तामाङले गत साता सम्पन्न सकिर्ट–१ को उपाधिसमेत जितेकी थिइन् ।

पुरुष एकलतर्फको उपाधि हङ्गेरीका लोरान्ट ग्योरीले हासिल गरे । स्वीडेनका इमिलियो जियलकोस्कीलाई ६–३ र ७–५ अङ्कले पराजित गर्दै उनले उपाधि जितेका हुन् ।

पुरुष ‘डबल्स’मा भने भारतका कविर र दक्षप्रसादको जोडीले अमेरिकाका सिद्धार्थ लामा र मिथ्रे ब्यारेटको जोडीलाई पराजित गर्दै उपाधि चुम्न सफल भए ।

महिला ‘डबल्स’को उपाधि चाहिँ भारतका नियती कुक्रेती र हाना नागपालको जोडीले जितेको छ । उक्त जोडीले आफ्नै देशको रिया दुगर र तनुश्री पाण्डेको जोडीलाई पराजित गरेको थियो ।

विजेता खेलाडीलाई गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङ, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँ, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार, नेपाल टेनिस सङ्घका केन्द्रीय अध्यक्ष ज्योति राणालगायतले मेडल र प्रमाणपत्र पुरस्कार वितरण गरेका थिए ।

समापन समारोहमा टेनिसको विकासमा महत्वपूर्ण योगदान गर्ने हेमबहादुर लामालाई सम्मान गरिएको कास्की जिल्ला टेनिस सङ्घका अध्यक्ष नवीन श्रेष्ठले जानकारी दिए ।

जिल्ला टेनिस सङ्घको आयोजनामा भएको प्रतियोगितामा नेपालसहित १० देशका ८८ खेलाडीको सहभागिता थियो । अन्तर्राष्ट्रिय टेनिस महासङ्घ (आइटिएफ)सँगको सहकार्यमा प्रतियोगिता गरिएको हो ।