‘चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७८’ को उपाधि चनपा वडा नं १५ ले चुमेको छ । नगरपालिकाको सर्वाधिक राशिको सो प्रतिप्रतियोगितामा उसले वडा नं १४ लाई एक गोलका विरुद्ध तीन गोल गर्दै रु ८० हजारसहित ट्रफी र पदक चुुमेको छ भने वडा १४ दोस्रो भई रु ४० हजारसहित ट्रफी र पदक हात पारेको छ ।
चनपा–९ स्थित मच्छेगाउँमा नवनिर्मित मत्स फुटसल एरिनामा शनिबार साँझ सम्पन्न सो प्रतिस्पर्धात्मक खेलमा वडा नं १५ का तर्फबाट खेलाडी समीर कार्की, दिनेशसिंह खड्का, अविरल रिजाल, रञ्जन श्रेष्ठ, राहित थापा, सञ्जय कपर, अभय खड्का, सुजित रावत, प्रज्वल कार्की र सुशन घिमिरे मैदानमा उत्रिएका थिए । यसैगरी दोस्रो स्थान प्राप्त गरेको वडा नं १४ का तर्फबाट डेनियल श्रेष्ठ, विजय थापा क्षेत्री, सहिल राना, राजीव श्रेष्ठ, दिलकुमार महर्जन, अजित महर्जन, रयन महर्जन, सुरज महर्जन, सुमीप कार्की र सन्दीप रानामगरले भाग लिएका थिए ।
पश्चिम संयुक्त क्लबको संयोजन तथा चनपाद्वारा आयोजित सो प्रतियोगितामा नगरका १५ वडाका १८ टिमले भाग लिएका थिए भने खेल अन्तर्राष्ट्रिय नियमानुसार खेलाइएको थियो ।
यसैगरी प्रथम चन्द्रागिरि वडा जनप्रतिनिधि÷कर्मचारी कप फुटसल प्रतियोगिताको उपाधि चनपा वडा नं ५ ले हात पारेको छ । सो वडाका तर्फबाट रविन महर्जन, कान्छाभाइ महर्जन, हरिश महर्जन, रिकेश श्रेष्ठ र पुष्कर पोखरेलले प्रतियोगितामा भाग लिएका थिए भने दोस्रो स्थान प्राप्त गरेको वडा नं १४ का तर्फबाट विसु कार्की, श्रीथापा, मीनबहादुर श्रेष्ठ, हेमन्त महर्जन र दीपक श्रेष्ठको सहभागिता थियो ।
ती दुवै प्रतियोगिताको प्रथम र द्वितीय हुने टिमलाई चनपाका प्रमुख घनश्याम गिरी, वडा नं ५ का वडाध्यक्ष कान्छाभाइ महर्जन तथा क्लबका अध्यक्ष रामनारायण घिमिरेले संयुक्तरूपमा नगदसहित ट्रफी र पदक प्रदान गरे । सोही अवसरमा उनीहरुले उत्कृष्ट टिम, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई नगद रु पाँच÷पाँच हजारसहित ट्रफी र पदक प्रदान गरे । प्रतियोगिताको उत्कृष्ट टिमको उपाधि वडा नं १५ ले प्राप्त गरेको थियो । उत्कृष्ट गोलकर्ता सोही टिमका अबिरल रिजाल र उत्कृष्ट गोलपिकर सोही वडाका सुशन घिमिरेले प्राप्त गरेका थिए ।
सो अवसरमा नगरप्रमुख गिरीले नगरपालिकाले खेल क्षेत्रको विकासमा प्राथमिकता दिँदै आएको जानकारी दिँदै आगामी दिनमा युवापुस्ताले नै खेलकुदमार्फत नगरपालिका र सिङ्गो राष्ट्रलाई नै चिनाउने बताए । नगरको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यका क्षेत्रमा धेरै काम भएका उनको भनाइ थियो ।
क्लबका अध्यक्ष घिमिरेले नगर क्षेत्रमा क्लबले विभिन्न खेलकुद प्रतियोगिताको संयोजन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा नगरपालिकाले खेल गतिविधिमा क्लबलाई साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे भने क्लबका सल्लाहकार भुवन गिरीले पश्चिम क्षेत्रमा खेलकुद विकास र प्रवद्र्धन गर्न क्लबले विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको जानकारी दिए ।
प्रतियोगिताका संयोजक क्लबका उपाध्यक्ष साजन महर्जनले विभिन्न सङ्घ तथा संस्थाहरूको साथ र सहयोगले प्रतियोगिता सम्पन्न भएको बताए । सोही अवसरमा क्लबको दशौँ वार्षिकोत्सवका अवसरमा ‘केक’ काटिएको थियो । शुक्रबार बागमती प्रदेशसभा सदस्य रमा आलेमगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्य देवेन्द्र प्रधान तथा क्लबका अध्यक्ष घिमिरेले प्रतियोगिताको संयुक्तरूपमा शुभारम्भ गरेका थिए ।
प्रतिक्रिया