गुपचुप रूपमा महासभा बैठक गरेको भन्दै विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रिय समितिमा विवाद

गुपचुप रूपमा महासभा बैठक गरेको भन्दै विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रिय समितिमा विवाद


file photo


विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रिय समितिमा विवाद देखिएको छ । महासभा बैठकलाई लिएर समितिमा विवाद भएको हो ।

महासङ्घले शनिबार गुपचुप रूपमा महासभा बैठक गरेर दुई पक्षले नेतृत्व हत्याउन खोजेकामा सफल नभएपछि कार्यक्रम नै बिथोलिएको थियो । महासभा बैठक बिथोलिएको भन्दै निमित्त अध्यक्ष चक्रबन्धु अर्यालले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा महासभा बैठक स्थगित गरिएको जानकारी गराएका छन् ।

शनिबारको महासभा बैठकमा अध्यक्षका उम्मेद्वारद्वय महासचिव अस्मिता भण्डारी र कार्यसमिति सदस्य किशोरकुमार गौतम पक्षबीच विवाद भएको बताइएको छ । सचिव केशव सापकोटाका अनुसार महासचिव पक्षका मानिस बढी अभद्र गतिविधिमा उत्रिएपछि महासभा बैठक स्थगन गर्नुपरेको हो ।

निमित्त अध्यक्ष अर्यालले आप्रशासनमा बुझाएको निवेदनमा कार्यकारी समितिले उपयुक्त समयमा महासभा बैठक राखेर नयाँ नेतृत्व चयन गर्ने भन्दै स्थगन गरेको जानकारी गराएका छन् । यता महासचिव भण्डारी पक्षले भने महासभाबाट आज कार्यवाहक अध्यक्ष घोषणा गरेको जनाएको छ ।

महासचिव भण्डारीले आफूलाई महासभाले कार्यवाहक अध्यक्ष घोषणा गरेको दाबी गरेकी छन् । महासभालाई यो घोषणा गर्ने अधिकार रहेको भण्डारीको दाबी छ ।