नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा भोजन तथा आवास व्यवस्थापन समिति संयोजकको जिम्मेवारी पाएका कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले खानाको टेण्डर दिँदा अनुचित फाइदा लिएको गुनासो आएको छ ।
अधिवेशनमा सहभागीहरुलाई कोटेशन आव्हान गरिएकोमा सस्तो दरले खाना खुवाउँछु भनेकालाई नदिएर आफ्नो सेटिङमा भएका पार्टी प्यालेसलाई दिएको दाबी गरिउको छ । खाना तथा खाजा खुवाउने टेण्डर दियालो पार्टी प्यालेस र अनुपम फुडल्याण्डले पाएका छन् । स्रोतका अनुसार दियालोमा स्वयम् पाण्डेको पनि शेयर रहेको छ भने अनुपमचाहिँ उनका साथीको हो । स्काई दरबार बैंक्वेट, स्काई पार्टी प्यालेस र लर्ड प्यालेसलगायतलले पनि कोटेशन फारम भरेका थिए । तर कम दरमा कोटेशन दिए पनि उनीहरुले ठेक्का पाएनन् ।

स्काईसम्बद्ध एक जनाले भनेका छन्, ‘कोटेशन मागेको थियो, हामीले पनि फारम भरेका हौँ, सस्तो मूल्य राखेका थियौँ तर पाइएन । समितिको संयोजकको पनि लगानी भएको प्यालेस थियो र उहाँका साथीको पनि थियो अरे, त्यसकारण उनीहरुले नै ठेक्का पाए भन्ने सुनिएको छ।’ उनले अहिले भोजनको जिम्मा पाएको पार्टी प्यालेसले कति दरमा खाना खुवाउन लागेको भन्ने जानकारी नभए पनि आफूले राखेको मूल्यभन्दा सस्तोमा नखुवाएको हुन सक्ने बताए ।
खाजाको मूल्य पनि सामान्य राखिएको भन्दै उनले बिहानको खानाको मूल्य ५ सय ८० र बेलुकाको ६ सय रुपिँयामा खुवाउन आफू तयार भएको बताए । यो मूल्यमा भ्याट जोडिने गरी उनले कोटेशन भरेका थिए ।
भोजन तथा आवास व्यवस्थापन समितिका एक सदस्यले समेत खाना र खाजाको मूल्यबारे आफूलाई केही थाहा नभएको जनाए । संयोजकले नै कुरा गर्नुभएको हो, मूल्य कति हो थाहा भएन भन्ने उनको भनाइ छ । खान र बस्न कसैलाई असहज भने नभएको उनको दाबी छ । तथापि महाधिवेशन प्रतिनिधिहरुले भने खानामा अस्तव्यस्तता भएको र बसोबासको पनि सहजता नभएको आरोप लगाउँदै आएका छन् ।
समितिले २४, २५ र २६ गतेका लागि दैनिक ८ हजार जनालाई चिया, खाजा र खाना खुवाउने गरी कोटेशन मागेको अर्का एक पार्टी प्यालेस सञ्चालकले बताए । टेण्डर गुपचुप राखेर संयोजक पाण्डेले आफूखुशी काम गरेको आरोप ठेक्का नपाएका क्याटरिङ व्यवसायीहरुको रहेको छ ।
ज्ञातव्य छ, पाण्डे निवर्तमान निर्वाचित केन्द्रीय सदस्य हुन् । उनले यसपालि पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । उनी राष्ट्रियसभाका संसदीय दलका पूर्व सांसद र संसदीय दलका नेता पनि हुन् ।
यसरी, पार्टी नेतृत्वलाई समेत अलमलमा पारेर पाण्डेले खाना र बस्नका लागि छुट्याइएको रकममा गरेको अनियमितता बाहिरिएको छ । उनले महँगो दर भए पनि आफूनिकटका पार्टी प्यालेसलाई टेण्डर दिएको र आर्थिक प्रलोभनमा फसेको भन्दै उनको कार्यशैलीको विरोध गरिएको छ ।
प्रतिक्रिया