अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका लगानीकर्ताले दीर्घकालमा लाभ दिने कम्पनी छानेर मात्रै लगानी गर्नुपर्ने सुझाव दिएका छन् । ‘शेयर बजारमैत्री नीति तय गर्न, संस्थागत संरचनाको परिवर्तन र पारदर्शीतालगायतका विषयमा स्पष्ट पार्न सरकार तयार छ, अर्थमन्त्रीले शेयर बजार बढाउने घटाउने गर्दैन, लगानीकर्ता आफै जिम्मेवार भएर लगानी गर्नुस्’, उनले भनेका छन् ।
बीमा समितिको नयाँ भवनको सोमबार ललितपुरमा शिलान्यास गर्दै अर्थमन्त्रीले कम्पनी चिनेर ढुक्कले लगानी गर्न प्रोत्साहित गरे । पछिल्लो समय शेयर बजारमा आएको गिरावटको दोष आफूमाथि लगाएको भन्दै उनले विभिन्न प्रलोभनमा पारेर सीमित व्यक्तिले लाभ उठाएको र शेयर बजार घट्नुको आरोप आफूलाई लगाइएको गुनासो गरे । उनले भने, ‘अर्थमन्त्रीले शेयर बजार घटायो भन्छन्, यथार्थ त्यसो होइन । लगानीकर्ताको लगानी सुरक्षा गर्न सरकार प्रतिवद्ध छ । म प्रतिवद्ध छु ।’
सीमित व्यक्तिको चलखेलमा बजार घटाउने अनि मन्त्रीलाई गाली गर्ने विषय आफैमा नमिल्ने तर्क गर्दै उनले भने, ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो जस्तो भो । घटाउने मान्छे कहाँ-कहाँ हुन्छन्, कसले घटाउछन्, कसले बढाउछन् त्यही संस्थालाई थाहा होला । लगानीकर्ताको लगानीको रक्षा तथा संरक्षण गर्ने कुरामा अर्थमन्त्रालय गम्भीर छ । त्यसतर्फ ध्यान पनि दिइएको छ ।’
लाभग्राहीलाई अनावश्यक दुःख नहोस् भनेर सम्बन्धित संस्थालाई थप जिम्मेवार बनाउन आफू लागिपरेको र लगानीकर्ताको हित बाहेक सरकारको अरु कुनै चाहनासमेत नभएको उनको दाबी थियो ।
बजारमा भित्री कारोबार गर्नेलाई कारबाहीको दायरमा ल्याउन र बजारको विकेन्द्रिकरण गर्ने प्रयास जारी रहेको भन्दै उनले अर्थमन्त्रीलाई दोष दिएर मात्रै समस्याको समाधान नहुने जिकिर गरे । ‘अर्थमन्त्रीले बजार बढाउने र घटाउने काम गर्दैन । तपाईंलाई भ्रममा पारेर ठग्न सक्छन्, नठगिएरै आफ्नो व्यवसाय गर्नुहोला’, अर्थमन्त्री शर्माले भने ।
प्रतिक्रिया