अर्जेन्टिनाका विश्वचर्चित फुटबल खेलाडी डिएगो म्याराडोनाको चोरिएको घडी भारतको आसाम पुलिसले बरामद गरेको छ । आसामका मुख्यमन्त्री हिमन्ता विस्वा शर्माले चोरिएको घडी आसाममा बरामद भएको जानकारी ट्वीटमार्फत गराएका हुन् ।
आसाम पुलिसले दुबई पुलिससँग मिलेर एक खास मिसन सञ्चालन गरेको थियो । सोही मिसनअन्तर्गत दुवै प्रहरी संगठनको अथक प्रयासबाट म्याराडोनाको घडी चोरी गर्ने व्यक्ति पक्राउ परेको हो । उसको साथबाट चोरी गरिएको म्याराडोनाको घडी पनि बरामद गरिएको छ ।
म्याराडोनाको उक्त चोरिएको घडी आसामको चराइदेव जिल्लाबाट बरामद गरिएको आसाम पुलिसका डीजीपी ज्योति महन्ताले जानकारी गराएका छन् । साथै महन्ताले दुबई पुलिससँगको साझा मिसनबाट चोरी गर्ने व्यक्तिलाई गिरफ्तार गरिएको जानकारी दिए ।
म्याराडोनाको घडी चोरी गर्ने वाजिद हुसेन नामक व्यक्तिलाई आसामको चराइदेव जिल्लाको मोरनहाट भन्ने ठाउँबाट गिरफ्तार गरिएको थियो । हुसेनको साथबाट दिवंगत महान् खेलाडी म्याराडोनाको हुबलोन कम्पनी लि. एडिसनको बहुमूल्य घडी बरामद गरिएको थियो ।
वाजिद हुसेन आसमको शिवसागर जिल्लाका निवासी हुन् । हुसेन लामो समयदेखि दुवईमा कार्यरत थिए, उनी सन् २०२१ मा स्वदेश फर्किएका शिवसागर जिल्लाका एसपीले राकेश रोशनले जानकारी गराएका छन् । सुराकीको आधारमा चलेको अप्रेशनमा हुसेनलाई उनको ससुराली घरबाट गिरफ्तार गरिएको थियो । चोरी गरेको प्रमाणित भएपछि अब हुसेनलाई कानुनी सजाय हुने भएको छ । सो प्रक्रिया अगाडि बढेको आसामका मुख्यमन्त्री शर्माले बताएका छन् । ज्ञातव्य छ, म्याराडोनाको २५ नोभेम्बर २०२० मा निधन भएको थियो ।
प्रतिक्रिया