पहिलो चरणमै सभापतिमा जित्ने कांग्रेस उम्मेदवारहरुको दाबी

पहिलो चरणमै सभापतिमा जित्ने कांग्रेस उम्मेदवारहरुको दाबी


photo:rss


नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सभापतिका उम्मेदरवारहरुले निर्वाचन प्रक्रियाको पहिलो चरणमै आफूले जित्ने दाबी गरेका छन् ।

मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापतिका उम्मेदवार प्रकाशमान सिंहले निर्वाचनको पहिलो चरणमै आफूले जित्ने दाबी गरे । यदि दोस्रो चरणमा जानुपर्ने अवस्था भए नेतृत्व परिवर्तन हुने उनको भनाइ थियो ।

सभापतिका अर्का उम्मेदवार विमलेन्द्र निधिले पनि आफूले जित्ने प्रवल सम्भावना रहेको दाबी गर्दै १३औँ महाधिवेशनमा सभापतिको लागि अरुलाई मतदान गरे पनि यस पटक सभापतिमा आफैले आफूलाई मतदान गर्न पाएकोमा उत्साह दर्शाए । ‘१३औँ महाधिवेशनमा अरुलाई नै मतदान गरेर छानेको थिएँ, यसपटक आफैलाई छानेको छु, त्यसैले उत्साही छु’- उनले भने । मतदान प्रक्रियामा क्लस्टरअनुसार मतपत्र भएकोले मतदान गर्न सजिलो भएको प्रतिक्रिया उनले दिए ।

यस्तै, उपसभातिका उम्मेदवार विजयकुमार गच्छदारले पार्टी सभापतिमा पहिलो चरणमै प्रधानमन्त्री शेरबहादुर देउवाले सभापति जित्ने दाबी गरे । मतदान ढिलो गरी सुरु भए पनि निर्वाचन समितिले छोटो समयमा प्रभावकारी व्यवस्थापन गरेको र आज रातिसम्ममा मतदान गरेर सकिने जानकारी उनले दिए । गृहमन्त्री तथा केन्द्रिय सदस्यका उम्मेदवार बालकृष्ण खाँडले पनि प्रधानमन्त्री देउवाले पहिलो चरणमै पार्टी सभापतिमा जित्ने जिकिर गरे ।

अहिले केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचनका लागि भृकृटीमण्डमा मतदान जारी छ । राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रबाट मतदान सुरु भएको हो । आज बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन तालिका रहे पनि प्राविधिक कारण ढिला सुरु भएको हो । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा हालसम्म करि हजार मत खसिसकेको बताइएको छ ।