पलाउ जस्ता राष्ट्रहरूलाई अनावश्यक आप्रवासीहरूका लागि ‘डम्पिङ ग्राउन्ड’को रूपमा प्रयोग गरिँदै ?
राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीतिमा कडाइ गरेसँगै संयुक्त राज्य अमेरिकाले उष्णकटिबंधीय प्रशान्तको थोरै जनसङ्ख्या भएको टापु राष्ट्र पलाउमा आप्रवासीहरूलाई निर्वासन गर्न थालेको पलाउले बुधबार (१ जुलाई) जनाएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाबाट शरण खोज्नेहरू र कागजातविहीन आप्रवासीहरूलाई एल साल्भाडोर र युगान्डा लगायतका स्थानहरूमा पठाउन पनि दबाब दिइरहेको उनीहरुले जनाएका छन् ।
सानो भुगोल भएको प्यासिफिक राष्ट्र पलाउसँग अमेरिकाले गत डिसेम्बरमा ७५ लाख अमेरिकी डलर सहयोगको बदलामा निर्वासितहरूलाई पुनर्स्थापित गर्न सहमत भएको थियो ।
पलाउका राष्ट्रपति सुरान्जेल ह्विप्सको कार्यालयले फिलिपिन्सबाट करिब ८०० किलोमिटर पूर्वमा छरिएका कोरल एटोल लगायत स्थानमा निर्वासितहरु आइपुगेको बताएका छन् ।
ह्विप्सले डिसेम्बरमा हस्ताक्षर समारोहमा पुनःस्थापना सम्झौतालाई पलाउ र संयुक्त राज्य अमेरिकाका लागि सफलताको रूपमा प्रशंसा गरेका थिए ।
संयुक्त राज्य अमेरिकाको निर्देशनअनुसार निर्वासित मानिसहरूलाई मद्दत गरी आवाश्यक मार्गदर्शन गर्ने र उनीहरूले पलाउमा रोजगारी पाइ खुसी हुने आशा उनले ब्यक्त गरेका छन् ।
सम्झौताअनुसार सबै निर्वासितहरूको आपराधिक रेकर्डसहित पलाउले कसलाई स्वीकार गर्ने र कसलाई नगर्ने भन्ने विषयमा पूर्ण छनोटको अधिकार राख्ने बताइएको छ ।
सम्झौताअनुसार यसको सट्टामा, संयुक्त राज्य अमेरिकाले पलाउलाई “सार्वजनिक सेवा सञ्चालन तथा पूर्वाधार विकास गर्न चार करोड ७५ लाख अमेरिकी डलर सहयोग गर्नेछ ।
यद्यपी आलोचकहरूले यस विषयमा चिन्ता व्यक्त गर्दै संयुक्त राज्य अमेरिकाले पलाउ जस्ता राष्ट्रहरूलाई अनावश्यक आप्रवासीहरूका लागि “डम्पिङ ग्राउन्ड”को रूपमा प्रयोग गरेको आरोप लगाएका छन् ।
अमेरिकी विदेश विभागका प्रवक्ताले ट्रम्प प्रशासन अवैध र सामूहिक आप्रवासन अन्त्य गर्ने र अमेरिकाको सीमा सुरक्षालाई सुदृढ पार्ने प्रतिबद्धतामा अडिग रहि यो प्रक्रिया गरिरहेको जनाएका छन् ।
सामान्य मामिलाका रूपमा, अन्य सरकारहरूसँगको निजी कूटनीतिक सञ्चारको विवरणमा टिप्पणी नगर्ने अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ ।
सयौँ ज्वालामुखी टापुहरू र कोरल एटोलहरूमा फैलिएको लगभग २० हजार मानिसहरूको बसोबास रहेको राष्ट्र पलाउ जनसङ्ख्याको आधारमा विश्वको सबैभन्दा सानो देश हो भने लामो समयदेखि प्रशान्त क्षेत्रमा संयुक्त राज्य अमेरिकाको सबैभन्दा नजिकको सहयोगी हो ।
पलाउले सन् १९९४ मा स्वतन्त्रता प्राप्त गरेको भएता पनि अमेरिकी सेनालाई लामो समयदेखि चलिरहेको ‘कम्प्याक्ट अफ फ्रि एसोसिएसन’ सम्झौता अन्तर्गत आफ्नो क्षेत्र प्रयोग गर्न अनुमति दिइरहेको छ ।
यसको बदलामा, संयुक्त राज्य अमेरिकाले पलाउलाई सयौँ करोड डलरको आर्थिक सहयोग दिई यसको राष्ट्रिय रक्षाको जिम्मेवारी लिने सम्झौता भएको जनाइएको छ ।
प्रतिक्रिया