नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दसानायके नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) को बैठकले पुबुदुलाई राष्ट्रिय टोली मुख्य प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेको क्यानले जनाएको छ ।
क्यानको मुख्य प्रशिक्षक छनोट समितिले मुख्य प्रशिक्षक पदका लागि आवेदन परेकाहरूमध्येबाट पुबुदुसहित पाँच जनाको नाम आईसीसीलाई पठाएको थियो । नेपाललाई नजिकबाट बुझेर योजना बनाएका कारण दसानायके नै उपयुक्त ठहरिएका थिए । दसानायकेप्रति छनोट सदस्यहरूको एकमत रहकेकोले उनलाई प्रशिक्षकको भूमिका पुनः फर्काउने निर्णय भएको थियो ।
यस्तै, मुख्य प्रशिक्षक पुबुदु आफ्नो जिम्मेवारी सम्हाल्न पुष ५ गतेभित्र नेपाल आइपुग्ने क्यानले जनाएको छ । पछिल्लो समय प्रशिक्षक नियुक्तिको प्रक्रियामा भारतका मोन्टी देसाई र पुबुदुमध्ये कसलाई नियुक्त गर्ने विषयमा चर्चा चलेको थियो । मोन्टीसँग अन्तिम चरणसम्म कुरा चलाएको क्यानले आफूअनुकुलको समय नमिलेपछि दसानायकेलाई नियुक्त गरेको हो ।
दसानायकेले नेपाली राष्ट्रिय क्रिकेटको प्रशिक्षकको रूपमा सन् २०११ देखि २०१५ सम्म कार्य गरेका थिए । उनले नेपाललाई आईसीसीको डिभिजन १ देखि ३ सम्म पु¥याउन सफल भएका थिए । त्यस्तै, दसानायकेकै नेतृत्वमा नेपालले बंगलादेशमा भएको आईसीसी टि–२० विश्वकप समेत खेलेको थियो ।
प्रतिक्रिया