चाक्सीबारी भेटघाटपछि कांग्रेस सभापतिमा प्रकाशमान सिंहको समर्थन देउवालाई

चाक्सीबारी भेटघाटपछि कांग्रेस सभापतिमा प्रकाशमान सिंहको समर्थन देउवालाई



नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी शेरबहादुर देउवालाई सभापतिकै अर्का प्रत्यासी प्रकाशमान सिंहले समर्थन गर्ने भएका छन् । मंगलबार बिहान नेता सिंहको निवास चाक्सीबारीमा देउवा र सिंहबीच भएको भेटवार्तामा सो सहमति भएको हो ।

नेता सिंहले जानकारी दिएअनुसार आगामी दिनमा पार्टीलाई विधानसम्मत सञ्चालन गर्ने र पार्टीमा देखिएका कमीकमजोरीलाई सच्याएर अगाडि बढ्ने सहमति भएको छ ।

नेता सिंह र प्रधानमन्त्री देउवाबीच पदीय लेनदेनको गुप्त सम्झौता भएको चर्चा यतिबेला राजनीतिक वृत्तमा चलेको छ । दुई नेताबीच के कस्ता सहमति र सम्झौता भए भन्ने ठोस जानकारी सार्वजनिक नभए पनि देउवालाई अप्ठेरो अवस्थामा सघाएवापत छिट्टै प्रकाशमान सिंहलाई सरकारमा उपप्रधानमन्त्री बनाउन देउवा तयार भएको बताइएको छ । यसबाहेक पार्टीका विभिन्न मनोनयनमा पनि सिंहको सुनुवाइ गरिने बचन देउवाले दिएका छन् ।

महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि सभापति पदको पुनः मतदान हुन लागेको हो ।
महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना आज बिहान सम्पन्न भएको थियो । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सभापति पदका प्रत्यासी मध्ये कसैले पनि कुल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि आजै अपराह्न ३ः३० देखि साँझ ७ः३० बजेसम्म पुनः मतदान गर्ने तयारी गरेको छ ।

मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २५८ उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गर्नुभएको थियो । सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५०, र कल्याण गुरूङले २२ मत प्राप्त गर्नुभएको थियो ।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदानमा कुल ७६ मत बदर भएको थियो ।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।