प्रतिनिधिसभाका बैठकमा पाँच अध्यादेश पेश गरिने

प्रतिनिधिसभाका बैठकमा पाँच अध्यादेश पेश गरिने


photo:rss

आजदेखि शुरु हुने सङ्घीय संसद्को दशौँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ सहित विभिन्न पाँच अध्यादेश पेश गर्ने कार्यसूची रहेको बताइएको छ ।

संसद् सचिवालयका अनुसार बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश–२०७८, तेजाब तथा घातक रसायनिक पदार्थ नियमन, अध्यादेश–२०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश–२०७८ पेश गर्नेछन् ।

यस्तै, आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश–२०७८ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

बैठकको प्रारम्भमा राष्ट्रपतिबाट गरिएको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइने र सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नामावली मनोनयन हुने बताइएको छ ।