देउवाले पाए २२५८ र कोइरालाले १७२९, कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान हुने

देउवाले पाए २२५८ र कोइरालाले १७२९, कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान हुने



नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले २,२५८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी डा. शेखर कोइरालालाई १,७२९ मत प्राप्त भएको छ ।

सभापतिका अन्य प्रत्यासी प्रकाशमान सिंहले ३६०, विमलेन्द्र निधिले २३९ र कल्याण गुरूङले २० मत प्राप्त गरेका नेका १४औँ महाधिवेशनको निर्वाचन समितिले जनाएको छ ।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा ४,७४३ मतदातामध्ये ४,६७९ मतदाताले मतदान गरेका थिए ।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएकाले अब पुनः दोस्रो चरणको मतदान हुने भएको छ ।

पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो ।

यस मतपरिणामपछि सभापतिको दौडबाट प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ बाहिरिएका छन् भने पुनः पार्टीसभापति बन्ने शेरबहादुर देउवाको आकांक्षामाथि तरबार झुण्डिन पुगेको छ । दोस्रो चरणको निर्वाचनमा संस्थापनइतर पक्ष एकजुट भएर देउवाविरुद्ध उभिने र शेखर कोइरालालाई मत दिन सक्ने सम्भावना रहेको छ । परिवर्तनको पक्षमा चाहने कांग्रेस मतदाताहरुको मानसिकता दोस्रो निर्वाचनमा बदलिन पनि सक्ने सम्भावना छ ।

दोस्रो चरणको नर्वाचन आजै सम्पन्न गर्ने तयारी निर्वाचन समितिले गरिरहेको छ ।