देउवालाई ८१ मत नपुगेपछि…

देउवालाई ८१ मत नपुगेपछि…


कांग्रेस सभापति पदमा पुनः मतदान हुने, दोस्रो चरणको निर्वाचन दिउँसो ३ः३० बाट


नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना आज बिहान सम्पन्न भएको छ । सभापति पदका प्रत्यासीमध्ये कसैले पनि कूल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पुनः मतदान हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवाले दुई हजार २५८ उ नका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७२९ मत प्राप्त गरेका छन् । सभापतिका अन्य प्रत्यासी पूर्वमहामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन् ।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६८१ मतदाताले मतदान गरेका थिए । मतदानमा कूल ७७ मत बदर भएको थियो । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । समितिका अनुसार देउवाले ४८.२३, कोइरालाले ३६.९३, सिंहले ७.९२, निधिले ५.३१ र गुरुङले ०.०४ प्रतिशत मत ल्याएका छन् । सबैभन्दा बढी मत प्राप्त गर्ने सभापति देउवालाई विजयी हुनका लागि ८१ मत नपुगेको समितिले जनाएको छ ।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ ।

पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । तर पहिलोपटक नै दुई जना मात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानको व्यवस्था छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो । अन्य पदको मतगणना भने सभापति पदको मतगणनापछि पार्टी केन्द्रीय कार्यालयमा गरिने बताइएको छ ।

दोस्रो चरणको निर्वाचन दिउँसो ३ः३० बाट

यसैबीच कांग्रेस केन्द्रीय निर्वाचन समितिले कांग्रेस सभापतिको दोस्रो चरणको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार मंगलबार दिउँसो ३ः३० बजेदेखि निर्वाचन सुरु हुनेछ। निर्वाचन साँझ ७ः३० बजेसम्म चल्ने बताइएको छ।