सभापति देउवासँग कुनै पद लिने सम्झौता नभएको नेता सिंहको प्रष्टोक्ति

सभापति देउवासँग कुनै पद लिने सम्झौता नभएको नेता सिंहको प्रष्टोक्ति


नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग पद लिने कुनै सम्झौता नभएको स्पष्टिकरण दिएका छन् । नेता सिंहले मंगलबार साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग नगरेको जनाएका हुन् ।

“निश्चित कुनै पद लिने भन्ने सम्झौता भएको भन्ने ढङ्गले केही अनलाइनमा आएको भ्रमपूर्ण समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ”, नेता सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेता सिंहले प्रथम चरणको निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गरेका तथा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अगाडि बढ्ने प्रतिबद्धताअनुसार आफूले सभापतिमा देउवालाई समर्थन गरेको बताए । उनले अन्य खाले अनर्गल भ्रममा नपर्न सबैलाई आग्रहसमेत गरेका छन् ।