हाइटीमा इन्धन ट्याङ्की विस्फोट, कम्तिमा ५० जनाको मृत्यु

हाइटीमा इन्धन ट्याङ्की विस्फोट, कम्तिमा ५० जनाको मृत्यु


हाइटीको उत्तरी क्षेत्रमा मङ्गलबार इन्धन ट्याङ्की विस्फोट हुँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ । घटनामा थप दर्जनौँ व्यक्तिहरू घाइते भएका स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ । सोमबार राति भएको उक्त विस्फोट हाइटीको उत्तरी बन्दरगाह सहर क्याप–हैटियनमा भएको हो ।

घटनामा कम्तीमा ५०–५४ जनाको जलेर मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति जलेर घाइते भएका क्याप–हैटियनका नगरका उपप्रमुख प्याट्रिक अलमोनरले बताएका छन् । उक्त घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतक सङ्ख्या बढ्न सक्ने चिकित्सकहरूले बताएको न्यूज–२४ नामक स्थानीय समाचार संस्थाले उल्लेख गरेको छ । घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको बताइएको छ ।

उक्त विस्फोटपछि घटनास्थल वरपर रहेका करिब २० घरमा आगलागी भएको छ । ती घरमा रहेका मानिसहको सङ्ख्या तत्काल पत्ता लगाउन कठिनाइ भइरहेको जनाइएको छ ।

यता थाइल्याण्डमा सैन्य प्रशिक्षण उडानमा रहेको थाई हेलिकप्टर मङ्गलबार दुर्घटनाग्रस्त हुँदा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ । लोप बुरी प्रान्तको आर्मी एभिएसन सेन्टरबाट तालिम उडानका क्रममा अन्य हेलिकप्टरसँग उडेको हेलिकप्टरमा छिमेकी प्रान्त नाखोन सावनमा आगो लागेर दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले सेनाको स्रोतलाई उद्धृत गर्दै बताएको छ ।