नेतृत्वका जालझेल चिर्दै प्रतिवाद गर्ने सामर्थ्य हरेक दलका कार्यकर्ताले दर्शाउन सके नेतृत्वले आफ्नो यथार्थ धरातल चिन्नेछन् । मुलुकसँग जोडिएका हरेक अवयवले आ-आफ्नो धरातलीय वास्तविकता बोध गरी सोअनुसारको व्यवहार नगरेसम्म मुलुक सुन्दर गन्तव्य पहिल्याएर अघि बढ्न सक्दैन ।

दलीय नेतृत्वमा पुस्तान्तरण एवम् कार्यकर्ता पङ्क्तिमा सोचान्तरणको सन्देशवाहक बनेर उदाएका राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली राजनीतिको वर्तमान विकृति औंल्याउँदै स्वयम्लाई समेत विकृतिको हिस्सेदार स्वीकार गरी मिठासपूर्ण लवजमा सत्य उजागर गरिदिए- ‘नेतालाई आमजनताले नेताका रूपमा नभइ चोरको रूपमा बुझ्दछन् !’ कुनै व्यक्तिविशेषलाई नऔंल्याइ उनले तमाम नेताको प्रवृत्तिप्रति व्यङ्ग्य गरेका थिए । तर, चोरको खुट्टा काट् भन्दा चोरले खुट्टा तानेको आहान चरितार्थ गर्दै माओवादी सुप्रिमो प्रचण्डले सार्वजनिक मञ्चबाट तात्तातै प्रतिवादको प्रयत्न गरे- ‘हामी चोर होइनौँ !’ हजारौँको सङ्ख्यामा उपस्थित सचेत राजनीतिक कार्यकर्ताको जमातलाई प्रचण्डको प्रतिवाद सैह्य भएन, एक स्वरमा प्रचण्डप्रति औंला ठडियो- ‘हो.. हो चोरै हो !’
नेपाली काङ्ग्रेसको चौधौँ महाधिवेशन उद्घाटन समारोहको सन्दर्भ हो यो । प्रचण्डले ‘नेताहरू चोर हुन् भन्ने कुरा सत्य हो त ?’ भनी ‘मास’सँग जवाफ माग्दा एकसाथ जवाफ आयो- ‘हो..हो !’ उनले त्यस्तो जवाफ प्राप्त होला भन्ने कल्पना या अपेक्षा गरेका थिएनन्, निचोरिएको निबुवाजस्तो अनुहार लगाएर उनले पुनः प्रतिवाद गरे- ‘होइन.. होइन !’ भीडले फेरि करतलध्वनिका साथ भन्यो- ‘हो.. हो !’ नेतालाई आमजनताले चोरको रूपमा बुझ्न थालेका भन्ने राप्रपा नेताको अभिव्यक्तिप्रति यसरी समर्थन जनाउने त्यो भीड राप्रपाका कार्यकर्ताको थिएन, बरु प्रचण्डकै अगुवाइमा बनेको सत्ता-गठबन्धनको नेतृत्वकर्ता दलका अगुवा कार्यकर्ता थिए । प्रकारान्तरले उनीहरू सबै प्रचण्डहरूले नै सह्राहना गर्दै आएका लोकतान्त्रिक अग्रगमनकारी राजनीतिक प्रणालीका पक्षधर सचेत नागरिकहरू नै थिए । यदि ती राजेन्द्र लिङ्देनका कार्यकर्ताहरू हुन्थे भने तिनको के हाल बनाइन्थ्यो होला- कल्पना गर्न सकिन्छ, तर प्रचण्डहरूबाटै प्रदत्त प्रणालीका पक्षधर सचेत तप्काबाटै ‘जनताले नेतालाई चोर भन्न थालेका छन्’ भन्ने अभिव्यक्तिमा लालमोहर लागेको उदेकपूर्ण परिवेश थियो त्यो ।
यो सामान्य सन्दर्भ होइन । खासगरी वर्तमान संविधानका सारथि दल तथा तिनका शीर्ष नेतृत्वमा रहेका नेताहरूका लागि आफैंलाई नियाल्न र, वर्तमान शासन प्रणालीप्रति आमनेपालीमा जागृत वितृष्णा तथा असन्तुष्टिको तह मापन गर्न यो सन्दर्भ एक चोटिलो पाठ हो । जनेच्छाअनुरूप आफू अघि बढ्न र देशलाई अघि बढाउन चाहने इमानदार र विवेकी शासकका निम्ति यो लज्जाको विषय मात्र नभइ सच्चिएर अघि बढ्नहेतु महान् प्रेरणाको प्रसङ्ग बन्न सक्थ्यो । तर, हाम्रा नेताहरूमा कमजोरी स्वीकार गरी सच्चिने चेत कहाँ ?! यस्ता सन्दर्भबाट शिक्षा लिएर आफू र आफ्ना गल्तीहरूलाई सच्च्याउने अवस्थाभन्दा निकै माथि उकासिइसकेका छन् कथित ठूला राजनीतिक दल एवम् दलका नेताहरू । त्यसैले त ‘नेतालाई जनताले चोर भन्न थालेका छन्’ भन्ने यथार्थपरक अभिव्यक्तिमा पनि प्रचण्डले ‘प्रतिगमनकारी तत्वको ठूलो षड्यन्त्र’ देखे । आफूहरूलाई बदनाम गर्न प्रतिगमनकारीहरू सल्बलाएको भन्दै असामयिक तर्क गर्न उनलाई लज्जा बोध भएन । प्रचण्ड मात्र नभइ एमालेका अध्यक्ष केपी ओलीसमेतले लिङ्देनप्रति कटाक्ष गरेर आफ्नो साख घटाए । वर्तमान शासन प्रणाली र शासनाधिकारीहरूको वास्तविक अनुहारको चित्रण हो उल्लिखित सन्दर्भ । र, नेपाली जनता अब ढोँगी चरित्रका नेतालाई बिदा गरी समयसुहाउँदो नेतृत्व स्थापित गर्न उद्यत् छन् भन्ने कुराको ज्वलन्त प्रमाण पनि हो यो ।
वास्तवमा वर्तमान नेतृत्व आफैं सच्चिएर देश र जनताको हितमा कर्म गर्ने सोचमा अझै छैनन् भन्ने कुराको दृष्टान्त बग्रेल्ती भेटिन्छन् । अझै पनि सामन्ती शैलीमा सिङ्गै देशलाई दङ्ग्याउन खोज्ने यिनका चरित्रले मुलुक नवसामन्ती युगको अँध्यारो सुरुङभित्र प्रवेश गरी उकुसमुकसमा पर्न अभिसप्त छ भन्नेमा सन्देह राख्नै पर्दैन । जनतालाई आफ्ना कार्यकर्तामा रुपान्तरण गर्ने र कार्यकर्तालाई दासकै रूपमा व्यवहार गर्दै व्यक्तिगत बर्चश्व बढाउने यिनका दुर्अभीष्टमाथि अब लगातार धक्का दिनैपर्छ । नेतृत्वका जालझेल चिर्दै प्रतिवाद गर्ने सामर्थ्य हरेक दलका कार्यकर्ताले दर्शाउन सके नेतृत्वले आफ्नो यथार्थ धरातल चिन्नेछन् । मुलुकसँग जोडिएका हरेक अवयवले आ-आफ्नो धरातलीय वास्तविकता बोध गरी सोअनुसारको व्यवहार नगरेसम्म मुलुकले सुन्दर गन्तव्य पहिल्याएर अघि बढ्न सक्दैन । सचेत नेपाली जनताको वर्तमान चाहना यही हो ।
प्रतिक्रिया