अमेरिकालाई पनि छक्याइँदै !

अमेरिकालाई पनि छक्याइँदै !


file photo


नेकपा एमालेको नाराबाजी र विरोधका कारण मङ्सिर २८ गते मंगलबार बोलाइएको संसद् अधिवेशन स्थगित भएको छ । मंगलबारको बैठकमा एमसीसी परियोजना अनुमोदनसम्बन्धी प्रस्ताव टेबुल हुने अनुमान एमसीसीसम्बन्धी विषय उल्लेख नभए पनि मंगलबार अचानक टेबुल गरिन सक्ने ठानिएको थियो । तर संसदको बैठकमा कानूनमन्त्रीले केही अध्यादेश टेबुल गरेलगत्तै बैठक नाराबाजीका बीचमा स्थगित गरिएको थियो ।

यता संसद्को बैठक शुरु भएकै दिन उता अमेरिकामा एमसिसी गवर्निङ बोर्डको पनि बैठक राखिएको थियो । उक्त बैठकले के निर्णय लियो भन्नेबारे यो समाचार तयार पार्दासम्म जानकारीमा आउन सकेन ।

प्रधानमन्त्री शेरबहादुर देउवा चाँडोभन्दा चाँडो एमसीसी अनुमोदन गराउने पक्षमा भए पनि प्रचण्ड एमसीसीको पक्षमा प्रकट हुन डराइरहेका छन् । माओवादी पार्टीभित्र अधिकाङ्श नेता र सांसदहरू एमसीसीको विरुद्ध भएकोले प्रचण्ड निकै दबाबमा परेका छन् । अनुमोदन नगराउँदा र गराउँदा दुवै अवस्थामा सङ्कट झेल्नुपर्ने भएकोले अनेकौँ बहानावाजी गर्दै समय लम्ब्याउने र आगामी संसदीय निर्वाचनको समयसम्म यस सम्बन्धमा कुनै निर्णय नलिने चालबाजीमा प्रचण्ड रहेको बताइन्छ । एमसीसी अनुमोदनका निम्ति टेबुलसम्म गर्ने र अमेरिकालाई आश्वस्त तुल्याउँदै जाने तर आगामी संसदीय निर्वाचनसम्म अनुमोदन भने नगराउने रणनीति प्रचण्ड रहेको बताइन्छ ।

एमसीसी अनुमोदन गरेर चुनावमा जाँदा काङ्ग्रेसलाई समेत क्षति पुग्ने भन्दै प्रचण्डले प्रधानमन्त्री देउवालाई समेत आफ्नो रणनीतिक चालमा सहमत गराउन प्रयास गरिरहेका छन् । पौष ५ गते हुने भनिएको संसदीय बैठकको कार्यसूचिमा एमसीसी अनुमोदनसम्बन्धी विषय टेबुल गर्ने तर बहसमा नलगिने बुझिएको छ । शेरबहादुर-प्रचण्डको भुलभुलैयामा अमेरिका कहिलेसम्म पर्ने हो सो जानकारीका लागि भने अझै केही समय प्रतीक्षा गर्नुपर्ने भएको छ ।