महेशभन्दा गोकुल अगाडि

महेशभन्दा गोकुल अगाडि



नेकपा एमालेका बहुचर्चित युवा नेताहरू गोकुलप्रसाद बास्कोटा र महेश बस्नेतमध्येको वरिष्ठ (Senior) भन्ने विवादको टुङ्गो लागेको छ । मङ्सिर २५ गते बसेको एमाले केन्द्रीय समितिको बैठकको निर्णयपश्चात उक्त विषयको टुङ्गो लागेको हो ।

आफ्नो उन्नति-प्रगतिमा बास्कोटा र बस्नेतले एकले अर्कोलाई बाधक देख्न थालेपछि अध्यक्ष केपी शर्मा ओलीसमेत अप्ठ्यारोमा पर्नुभएको थियो । महेश बस्नेत आफूलाई प्राप्त हरेक अवसरमा गोकुल बास्कोटा बाधक बनेको ठान्थे र, विरोध जनाउँथे । विस्तारै गोकुलले पनि महेश आफ्नोविरुद्ध क्रियाशील रहने गरेको जानकारी पाए र, त्यसपछि दुई युवा नेताबीचको वैमनष्यता बढ्न थाल्यो । दुवैले एकअर्कालाई नटेर्ने स्थिति बन्यो । केन्द्रीय समितिको २५ गते सम्पन्न बैठकले पोलिटब्यूरो सदस्य चयन गर्दा बरियताक्रममा गोकुललाई अगाडि पारेपछि कसले कसलाई मान्नुपर्ने भन्ने कुराको छिनोफानो भएको छ ।

गोकुल बास्कोटा छयालिसौँ नम्बरको पोलिटब्यूरो सदस्य भएका छन् भने महेश बस्नेत मर्यादाक्रमको सतचालिसौँ नम्बरमा परेका छन् । यो निर्णयले महेश बस्नेतभन्दा गोकुल बास्कोटाको मर्यादाक्रम माथि रहेको पुष्टि गरेको छ । तर मर्यादाक्रम माथि हुँदैमा महेशले गोकुललाई नेता मान्ने/नमान्ने कुराको यकीन भने भएको छैन ।