रामचन्द्रसहित दर्जन बढी नेताको राजनीतिक यात्रा सङ्कटग्रस्त

रामचन्द्रसहित दर्जन बढी नेताको राजनीतिक यात्रा सङ्कटग्रस्त



नेपाली काङ्ग्रेसको चौधौँ महाधिवेशनसँगै काङ्ग्रेसका एक दर्जनभन्दा बढी नेताहरूको राजनीतिक भविष्य सङ्कटमा परेको देखिएको छ । चौधौँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने मौका पाएकै भए पनि पराजित भएर रामचन्द्र पौडेलको राजनीतिक यात्रामा पूर्णबिराम लाग्ने निश्चित थियो । उम्मेदवार बन्ने रहर समेत पूरा नभइ रामचन्द्र पौडेलको राजनीति सकिएको छ । काङ्ग्रेसमा अब पौडेलको भूमिका नमागिएको सुझाव दिने र कहिलेकाहीँ सञ्चारमाध्यमहरूमा देखापर्ने मात्र हुनेछ ।

सभापति, उपसभापति र महामन्त्रीको जिम्मेवारी लिन योग्यता पुगेका अन्य नेताहरूको राजनीतिक भविष्य पनि सङ्कटमा परेको छ र, कतिपयको पन्ध्रौँ महाधिवेशनताका सामान्य चर्चासमेत नहुने स्थिति बनेको छ । राष्ट्रिय राजनीतिको अन्य सामान्य भूमिकामा आफ्नो अस्तित्व कायम राख्नसके पनि काङ्ग्रेसको आन्तरिक राजनीतिमा धेरै नेताहरू ‘ढुण्डिराज’ बन्ने सम्भावना छ । प्रदीप गिरीको राजनीति यसै अधिवेशनबाट सकिएको छ । डा. रामशरण महत, डा. नारायण खड्का, ज्ञानेन्द्रबहादुर कार्की र अर्जुन नरसिंह केसीले पार्टीको उच्चपदीय जिम्मेवारी प्राप्त गर्ने सम्भावना क्षीण भएको छ । डा. शशाङ्क कोइराला, डा. शेखर कोइराला, सुजाता कोइराला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, दिलेन्द्रप्रसाद बडु, दिलबहादुर घर्ती, बलबहादुर केसी र आनन्द ढुङ्गानालगायतका नेताहरूको पन्ध्रौँ महाधिवेशनमा खोजी नहुने अवस्था छ । चौधौँ महाधिवशेनको कार्यकालभर सानातिना भूमिका निर्वाह गरेर समय बिताउन पाइए पनि त्यसपछि उहाँलाई पूर्वमहामन्त्री तारानाथ रानाभाटलाई झैँ बिर्सने सम्भावना बढेको छ । उहाँहरूको विकल्पमा कस्ता मानिस खडा गरिएलान् भन्ने जिज्ञाशा पनि यसैसाथ प्रकट हुन सक्छ ।

शेरबहादुर देउवाको दोस्रो कार्यकालमा उहाँले आफ्ना उत्तराधिकारीहरूको सेटिङ गर्ने र, त्यसमा अवरोध पैदा गर्ने क्षमता भएकाहरूलाई तारानाथ रानाभाट र खुमबहादुर खड्कालाई झैँ पन्छाइन सक्ने प्रवल सम्भावना छ । देउवाले आफ्नो उत्तराधिकारीका रूपमा आरजु राणालाई स्थापित गर्ने र उहाँको यस्तो इच्छामा बाधक नबन्ने नेताहरूले मात्र ‘स्पेस’ पाउने देखिएको छ ।