मल्लको निवेदनले खेलकुदमा सन्नाटा

मल्लको निवेदनले खेलकुदमा सन्नाटा


पोल खुल्ने सन्त्रासले घटनाको ढाकछोप गरिँदै

  • श्रीविक्रम भण्डारी

राष्ट्रिय खेलकुद परिषदका पूर्व प्रशासकिय अधिकृत सनतबम मल्लले रकम फिर्ताको पहल गरिदिन राष्ट्रिय खेलकुद परिषद्मा निवेदन दर्ता गरेपछि खेलकुदमा भूकम्प गएजस्तै माहोल बनेको छ । खेलकुदमा मानौँ कुनै प्रलय नै भएसरि सन्नाटा छाएको छ । केही कर्मचारी निलो फर्किएका छन् भने केही भित्रभित्रै खुशीले गदगद । शक्तिको आडमा खेलकुदलाई कमाई खाने थलो बनाउँदै आएका कर्मचारीहरू यो घटनापछि निकै सशंकित बनेका छन् । हिजोसम्म एकले अर्कालाई सिध्याउने खेलमा रमाउने खेलकुदका कर्मचारीहरू यतिबेला आफ्नो पनि पोल खुल्ने सन्त्रासले यो घटनालाई कसरी ढाकछोप गर्न सकिन्छ त्यसतर्फ केन्द्रीत बनेका छन् । मल्लले राखेपमा निवेदन हाल्दा उनले साहसी कार्य गरेको भन्नेहरू अहिले मल्लप्रति शङ्का गर्दै अनर्गल प्रचार गर्ने प्रयास गरिरहेका छन् ।

प्राप्त जानकारीका अनुसार मल्लले मंसिर २१ गते राष्ट्रिय खेलकुद परिषदमा दर्ता गराएको निवेदनको फाइल अहिलेसम्म अगाडि बढ्न सकेको छैन । मल्लको फाइल राखेपका सदस्यसचिव टंकलाल घिसिङको टेबुलमा पुग्दा आफू भरखरै परिषदमा आएको र यो गम्भीर प्रकृतिको मुद्दा भएको भन्दै केही समयका लागि फाइल अगाडि नबढाउन निर्देशन दिएको बुझिएको छ । साथै यो विषयमा अन्य कुराहरू पनि जान्न-बुझ्न आवश्यक भएकोले केही समयका लागि यो विषयमा कुनै किसिमको चर्चा नगर्न समेत भनेको स्रोतले जानकारी गराएको छ । यसरी अब मल्लको फाइल कहिले अगाडि बढ्छ या बढ्दैन, उनले न्याय पाउँछन् या पाउँदैनन् त्यो अहिले राखेपमा चर्चाको विषय बनेको छ । मल्लको फाइल पेन्डिङमा परेको बारेमा राखेप स्रोतसँग सम्पर्क गर्दा उनले आफूलाई यसारेमा कुनै किसिमको जानकारी नभएको बताए ।

खेलकुदमा मल्ल-प्रकरण सार्वजनिक भएसँगै अहिले राखेपमा ठूलै चलखेल भएको अनुमान लगाउन सकिन्छ । यसमा भित्री र बाहिरी चलखेल उत्तिकै भएको स्रोतको दाबी छ । यो चलखेलमा आरोपित राज दवाडी र कुलबहादुर थापालाई बचाउन निवेदक मल्ललाई दबाब दिन थालेको सुन्नमा आएको छ । सो क्रममा मल्ललाई केही व्यक्तिहरूले निवेदन फिर्ता लिए सेवा सुविधाबाट पाउनुपर्ने सम्पूर्ण रकम ब्याजसमेत फिर्ता गरिदिने बचन दिएको बुझिएको छ । यो बारेमा मल्लसँग सम्पर्क गर्दा उनले आफूलाई कुनै किसिमको दबाब नआएको र मिलेर जान केही साथीहरूले सुझाव दिएको मल्लले बताए ।

निवेदन हालिसक्नु भएको छ, तपाईंको मिल्न सक्ने सम्भावना कत्तिको छ त ? भन्दा मल्लले भने- ‘खेलकुदमा मैले डेढ वर्ष भोगेको पीडा असाध्यै छ, म त्यसलाई कदापि बिर्सन सक्तैन । मलाई काम नदिएर राजीनामा दिन लगाउनेहरूको अहिले पनि परिषदमा हालिमुहाली छ । यस्तो अवस्थामा न्यायको लागि मैले निवेदन दिएको हुँ, जस्को छानविन हुने कुरामा म विश्वस्त छु । मैले कसैसँग बदला लिन निवदेन दिएको होइन, यदि मिलेर काम बन्छ भने म मिलेर जान तयार छु । यसमा म सहयोग भूमिका निर्वाह गर्न तयार छु ।’

त्यस्तै, मंसिर २३ गते घटना र विचारमा प्रकाशित ‘कर्मचारीको सेवा सुविधाको दुई लाख विभागीय प्रमुखले हत्याएपछि…’ शीर्षकको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको राखेपका विभागीय प्रमुख कुलबहादुर थापाले जनाएका छन् । थापाले निवेदनसहितको विवरणमा उल्लेखित भएका विषयहरू कपोलकल्पित, भ्रामक र मानमर्द्धन गर्ने उद्देश्यले लेखिएको र यस्ता निवेदनलाई उल्लेख गर्दै समाचार बनाउँदा सञ्चारमाध्यमको समेत बदनाम हुने उल्लेख गरेका छन् । साथै थापाले ‘घटना र विचार’ जस्तो इतिहास बोकेको सञ्चारमाध्यमबाट तथ्यहीन समाचार आउँदा दुःख लागेको अभिव्यक्ति दिएका छन् । निवेदनमा उल्लेख भएको आर्थिक विषयहरूमा कुनै सत्यता नभएको भन्दै यदि प्रमाणित भए जस्तोसुकै सजाय पनि भोग्न आफू तयार रहेको उनले उल्लेख गरेका छन् । थापाले आफूले आजसम्म कुनै व्यक्तिविशेषसँग आर्थिक कारोवार नगरेको र आफ्नो नामसँग जोडिएको सम्बन्धित व्यक्तिसँग राखेपको विभागीय प्रमुख हुँदा नियमभन्दा बाहिर गएर कुनै कार्य नगरेको पनि बताएका छन् । साथै उनले कुनै व्यक्तिविशेषसँग रिस उठ्यो भन्दैमा यसरी निवेदन दिने हो भने खेलकुदको गरिमामाथि नै आँच आउने र त्यसको विरुद्धमा कानुनी उपचारसमेत जान सक्ने ध्यानाकर्षण पत्रमा चेतावनी दिएका छन् ।

यसैगरी पूर्वप्रशासकीय अधिकृत सनतबम मल्लले पनि ध्यानाकर्षण पत्र जारी गरेका छन् । पत्रमा मल्लले प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) सञ्चालन हुनु दुई महिनाअघि भण्डार शाखाबाट साग सचिवालयमा तानेर कुनै काम नदिएको, डेढ वर्षसम्म बस्नको लागि कुर्सीसमेत नदिएको जानकारी गराएका छन् । त्यस्तै, यो अवधिमा हाजिर गर्ने र हिँड्ने मात्रै आफ्नो काम भएको र यो क्रम निरन्तर चल्दा हाजिर गरेर तलब थाप् आफ्नो नैतिकताले नदिएपछि बाध्यतावश आफ्नो पदबाट राजीनामा दिएको उनले बताएका छन् । मल्लले थापासँग आफ्नो कुनै किसिमको आर्थिक कारोवार नभएको पनि ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् ।

राखेपमा निवेदन दिएको साता पनि नपुग्दै ध्यानाकर्षण पत्र लेख्न बाध्य भएका मल्लसँग सो बारेमा जानकारी माग्दा उनले भने- ‘यो मानवीय संवेदनशीलतासँग जोडिएको छ । मैले निवेदन न्याय पाउनका लागि दिएको हुँ, कसैको ज्यान लिनको लागि होइन । म कसैको ज्यान जोखिममा पारेर अपराधि बन्न चाहँदैन । मभित्र मानवता छ, मैले त्यसैलाई आत्मसात मात्र गरेको हुँ । निवेदन दिएपछि धेरै खालका चर्चा भए, मलाई बेलुन जस्तै फुलाउने कार्य भए तर मलाई परेको बेलामा कसैले सहयोग गरेनन्, तर मैले यतिबेला विवेक प्रयोग गरेको छु, मेरो यो निर्णयले कसैको घर-परिवार विखरिनबाट बचेको छ, म यो निर्णयबाट खुशी छु ।’

वर्तमान अवस्थामा दुवै पक्षले आफ्नो दलिल राख्दै आ-आफ्नो तरिकाले ध्यानाकर्षण पत्र जारी गरे पनि भित्री खेलचाहिँ के हो ? त्यो बुझ्न सकिएको छैन । राखेपमा अहिले भैरहेका र भोलि पनि दोहोरिन सक्ने घटना भए पनि परिषदले यो मुद्दालाई विशेष प्राथमिकतामा नराख्नुपछाडिको रहश्य आफैमा प्रश्नको घेरामा परेको छ । राखेपका सदस्यसचिव घिसिङलाई सत्यतथ्यको छानविन गरी आफ्नो काम देखाउने यतिबेला सुनौलो अवसर थियो । घिसिङलाई यो एउटै निर्णयले चर्चाको शिखरमा पुऱ्याउन सक्थ्यो । तर उनले परिषदमा सकारात्मक सन्देश जाने मुद्दाको कार्यान्वयन पक्षमा किन लागेनन्, यहाँ शंका गर्ने ठाउँ प्रशस्त देखिन्छ ।

राखेपमा मल्लको उजुरीसँगै कुलबहादुर थापाको विभाग परिवर्तन गरिएको छ । थापालाई प्रशासन विभाग प्रमुखबाट सरुवा गरी खेलकुद प्रतियोगिता तथा योजना विभागमा पठाइएको छ । प्राप्त जानकारीअनुसार थापालाई पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको लागि उक्त विभाग लगिएको हो । पाँचौं राष्ट्रियदेखि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अनुभव सङ्गालेका थापालाई उक्त विभागमा लानु समय सान्दर्भिक पनि देखिएको छ । तर आश्चर्यलाग्दो कुरा ! मिति नै नतोकिएको नवौँ राष्ट्रियको तयारीलाई अब थापाले कसरी अगाडि बढाउँछन् त्यो आफैमा चर्चाको विषय बनेको छ । राखेपले नवौँ राष्ट्रिय खेलकुदको आयोजनाको मिति २०७६ साल फागुन २० गते तोकेको थियो । तर अहिले लगभग तीन वर्षको समय बितिसक्दा पनि नवौँको आयोजनाको बारेमा राखेपले कुनै निर्णय गरेको छैन । तसर्थ नवौँ कहिले हुन्छ, हुन्छ या हुँदैन ? भविष्यकै गर्भमा छ ।