‘कि कसो ??’ : एक पादरीको पत्र

‘कि कसो ??’ : एक पादरीको पत्र


  • मोहन लामा रुम्बा

मान्य गुरुवर ! यस्ता कथाहरूको बारेमा हाम्रा धर्मप्रचारकहरूलाई जानकारी दिन सक्ने बनाउनका लागि हाम्रा पादरीहरूले यिनीहरूसँग छलफल गर्न सक्ने योग्यता हुनुपर्दछ । यदि मान्य गुरुवरले मेरो लागि एक किताब पठाउन सकेको खण्डमा हाम्रा यूरोपेली देवताबारेका कथाहरूको यिनीहरूलाई ज्ञान दिन सकिन्थ्यो र यसबाट यिनीहरूले फाइदा पनि उठाउन सक्तथे । यद्यपि अहिले हामी त्यस्ता कथाहरूमा विश्वास गर्दैनौँ । मार्काको हाम्रो प्रान्तस्थित मोन्ते ग्रानातो अथवा दास्कोली अथवा ओफ्फिदाको धार्मिक शिक्षालयमा यो धरती र ब्रम्हाण्डको बारेमा लेखिएका थुप्रै कथाका किताबहरू भएको जस्तो लाग्दछ मलाई । ओभिदियोले लेखेको प्रकृतिको विकासको क्रमसँगै आएका परिवर्तनहरू (Metamorphosis of Ovidio) जस्ता किताबहरू भए ज्यादै राम्रो हुन्थ्यो । यसैगरी मूर्तिपूजाको विरुद्धमा लेखिएका केही किताब पठाइदिन सक्नुहुन्थ्यो भने अझ ज्यादै राम्रो हुने थियो । यहाँ म आफू त्यस विषयमा कमजोर हुँदाहुँदै पनि जसोतसो धानिराखेको छु । तसर्थ यस्ता विषयका केही किताब, जसमा देवता र विज्ञानबारेको सन्दर्भलाई मिलाएर लेखेको होस्, हुने हो भने हाम्रो लागि यहाँ ज्यादै महत्त्वपूर्ण सावित हुन सक्तछ । मान्य गुरुवरका दयावान् पिता महाप्रभुसँग कथैकथाहरूबारे उल्लेख भएको यस्तो पत्र पठाउने साहस गरेकोमा मलाई धिक्कार्नुहुने छैन भन्ने लागेको छ । मैले यस्तो लेख्नुपरेको कारण यो पनि हो कि हाम्रो धर्ममा आधारित यस्ता कथाहरू यिनीहरूलाई सुनाउने हो भने यहाँका मानिसहरूले हाम्रो धर्म नै संसारको सबैभन्दा उत्तम धर्म भनेर मान्न थाल्नेछन् । भनाइको मतलव ‘जहाँ छिद्र छ आफ्नो मतलब साध्य गर्न त्यहीँबाट घुस्नुपर्दछ ।

काठमाण्डु, नेपाल अधिराज्य, २९ जुलाई १७१७
यशूको तुच्छ एवं आज्ञाकारी पुत्र
जुशेप्पे फेलिछे दा मोररो
(काठमाण्डु नेपालको लागि धर्मप्रचारकका प्रमुख)

मल्लकालमा नै इसाई धर्मप्रचार गर्न आएको पादरीहरूले आफ्नो रोममा भएको पोपलाई लेखेको पत्रमा उल्लेख गरेको कुराले के बुझिन्छ भने ‘यूरोपेली देवताका बारेका कथाहरूको बारेमा यिनीहरूलाई ज्ञान दिन सकिन्थ्यो… यद्यपि अहिले हामी त्यस्ता कथाहरूमा विश्वास गर्दैनौँ ।’ अर्थात आफूहरूले युरोपेली देवीदेउता बारेमा विश्वास नगरेता पनि यहाँनेर नेपालमा फैलाउन पाए यिनीहरू आफ्नो देशको अन्धविश्वास नै भए पनि फैलाउन खोज्दै गरेको देखिन्छ ।

दोस्रो, मुर्तिपूजाको चर्को विरोध गर्दै उपत्यकामा हिँडेको रहेछ भन्ने यो पत्रबाट देखिन्छ जसले गर्दा काठमाडौंमा चर्को जनअसन्तोष बढेर गएको रहेछ भन्ने अर्को पत्रमा यसरी उल्लेख गरेको छ ‘यसै वर्षको १८ जुलाईको दिन हामीविरूद्ध यहाँ काठमाडौंमा जनअसन्तोष उठ्यो । असन्तोष बढ्दै गएर हाम्रो जीवन नै खतरामा पर्ने हो कि जस्तो लागेको थियो । त्यतिखेर पादरी आयुक्त यहीँ हामीसँगै हुनुहुन्थ्यो र सबैले रुचाएको पादरीको रूपमा उहाँले यस जनअसन्तोषलाई साम्य पार्न कुनै कसर बाँकी राख्नुभएन । यो डरलाग्दो जनअसन्तोषको रचनाकार मूर्तिपूजक ब्राह्मणहरू थिए र यिनीहरू हाम्रो ज्यादै डाह गर्दछन् र, उनीहरूको काल्पनिक दैविक शक्तिलाई हाम्रो उपस्थितिले क्षति पु¥यायाएको ठान्दछन् । यो जनअसन्तोष दबाउन अरू कुरा केही पनि चाहिएन खाली राजाले सार्वजनिक रूपमा आएर यी फिरङ्गीहरूले न त मबाट केही प्राप्त गरेका छन् न मैले नै यिनीहरूलाई केही दिएको छु भनेपछि पर्याप्त हुन गयो । (पादरी जुशेप्पे फेलिचे दा मोर्रोको पत्र । काठमाडौ १० नोभेम्बर १७१६)

यो पत्रबाट के देखिन्छ भने यी रोमबाट आएका धर्मप्रचारक पादरीहरूले विभिन्न उपहारहरू दिएर उपत्यकाको मल्ल राजाहरूलाई आफ्नो वशमा पारेर निर्वाद रूपमा काठमाडौको नेवार समुदायलाई इसाईकरण गर्दै गरेको देखिन्छ भने यसबाट जनस्तरमा असन्तोष बढ्दै गएको तर मल्ल राजाले नै पादरीहरूलाई राजकीय संरक्षण र सुविधा दिएर राखेको कारण उपत्यकाको जनता कुण्ठित भएर बस्न परेको देखिन्छ ।

पत्रमा अर्को महत्त्वपूर्ण कुरा छ ‘जहाँ छिद्र छ आफ्नो मतलव साध्य गर्न त्यहीँबाट घुस्नुपर्दछ’ भनेर पोपलाई लेखेको छ अर्थात् जहाँ कमजोर छ त्यहीँ हान्नुपर्छ भनेर रणनीति अवलम्बन गर्नुपर्ने भएकोले सहयोग गर्नुपऱ्यो भन्दै आफ्नो मुख्यालयमा पत्राचार गरेको छ । तत्कालीन समयमा कमजोर छिद्र भनेको उपत्यकाको तीन वटा मल्ल राजाहरूमा एकापसमा अन्तरविरोध थियो, पादरीहरूले त्यसको फाइदा राम्रोसँग उठाएर आफ्नो दुनो सोझ्याएको देखिन्छ भने अहिले हाम्रो कमजोर क्षेत्र भनेको रुढीवादी छुवाछुत प्रथा हो त्यसलाई हतियार बनाएर दलितको नाउँमा डिजिटल आक्रमण गरिरहेको छ ।

अर्को एक ठाउँमा ल्हासाबाट लेखेको पत्रमा ल्हासामा खासै धर्मान्तरण गराउन सकेन तर नेपाल (उपत्यकाबाट) १ हजार जतिलाई धर्मान्तरण गराउन सफल भएको भनेर लेखेको छ, यस्तो प्रकारले नेपालीहरूलाई इसाईकरण गर्ने अभियान द्रूतगतिमा निर्वाध रूपमा चल्दाचल्दै बीचैमा खलनायक बनेर बडामहाराज पृथ्वीनारायण शाह उभिन आइपुगेछ ।

मल्लकालमा निर्वाध रूपमा राजकीय सुविधा लिएर धर्म प्रचारप्रसार गर्दै आएको पादरीहरूलाई गोर्खाली राजा आएपछि यसरी पत्र लेखेर आफ्नो रोममा रहेकोे भ्याटेकिन सिटीलाई जानकारी गराएको छ, यसरी-

‘अब धर्मप्रचारकहरूको क्रियाकलाप यी राजाको शुभेच्छामा भर पर्न गयो । यी राजालाई खुशी नपारेमा केही कार्य पनि नहुने देखी ई.सं. १७६४ मा साधनस्रोतको अभाव हुँदाहुँदै पनि आयुक्तले पादरी मिकेलाञ्जेलो दा ताविआगोलाई नुवाकोटमा नै बसी काम गर्ने गरी नियुक्त गरे, जहाँ त्यतिखेर गोरखाली राजाको राजधानी थियो र त्यो पनि सधैंका लागि नभएर केही समयको लागि फाइदा लिने दृष्टिकोणबाट मात्र बनाइएको थियो । निरंकुश, निर्दयी र कसैको कुरामा पनि झट्ट विश्वास नगर्ने यी राजाले धर्मप्रचारकहरूप्रति अलिकति पनि ध्यान दिएनन् र उनीहरूको कुरा सुन्दा पनि सुनेनन् । पछि ई.सं. १७६८ मा जब यिनले काठमाडौं र पाटन पनि जिते, त्यतिखेर पनि यिनको दृष्टिकोणमा कुनै परिर्वतन आएन । केपुचिनहरूको स्थानीय राजासँगहरूको सम्बन्ध राम्रो भए तापनि अब यिनीहरू आफूलाई सुरक्षित महसूस गर्न सकिराखेका थिएनन् । गोरखालीहरूको कट्टर हिन्दूवादले धर्मपरिवर्तन गराउने कुनै सम्भावना नै पैदा गरेन । तसर्थ उपत्यकामा रहेका तीन मिशनहरूले आयुक्तको निर्देशनलाई नपर्खिकनै (किनकि बाटो बन्द थियो) पादरी जुशेप्पे दा रोभातोको जिम्मामा नेपाली क्रिश्चियनहरूलाई सुरक्षितसाथ बेतिया पुऱ्याउने सामूहिक निर्णय भयो । पृथ्वीनारायणको अनुमति पाएर ई.सं. १७६ ९ को ४ फेब्रुअरीको दिन नेपाली क्रिश्चियनहरू आफ्नो मातृभूमि छाडेर बेतियातर्फ लागे । बाँकी रहेका दुई धर्मप्रचारकहरूले पनि अब यहाँ बसेर केही फाइदा नहुने देखी केही हप्तापछि नै ठूलो कठिनाइको साथ अनुमति लिएर तराईतर्फ झरे र यसप्रकार नेवारहरूको पुरानो नेपाल जहाँ धर्मप्रचारकहरू बाँचेर काम गरेका थिए, उनीहरूको सम्पूर्ण काम इतिहासको पानाबाट बिलाएर गयो ।
(पादरी जुशेप्पेको पत्र, तिब्बत र नेपालमा इटालियन धर्मप्रचारकहरू ७९)

अहिले हामी जनगणनामा हिन्दु लेखौँ किराँत लेखौँ बौद्ध लेखौँ हाम्रो सङ्ख्या यतिउति भनेर उफ्रिँदै छौँ । यदि तीन सय वर्षअगाडि बडामहाराज पृथ्वीनारायण शाहको उदय नभएको भए यतिबेला हामी अफ्रिकीहरू जस्तै क्याथोलिक लेखौँ ! प्रोटेस्टेन्ट लेखौँ !! एङ्लिकन लेखौँ !! भन्दै उफ्रँदै गरिरहेका हुने थियौँ होला, होइन र ? कि कसो ??