नेपाली कांग्रेसको उपसभापतिमा खड्का र गुरुङ निर्वाचित

नेपाली कांग्रेसको उपसभापतिमा खड्का र गुरुङ निर्वाचित


विजय गच्छदार दुई मतले पराजित

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको मतदानमा उपसभापति पदमा नेताहरु पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।

कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई उपसभापतिका लागि भएको निर्वाचनमा खड्का २,१२१ र गुरुङले १,९०८ मत प्राप्त गरी विजयी भएका हुन् । निवर्तमान कार्यसमितिमा खड्का महामन्त्री र गुरुङ केन्द्रीय सदस्य रहेका थिए । खड्का दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित शेरबहादुर देउवा ‘प्यानल’बाट उम्मेदवार रहेका थिए भने गुरुङ सभापति पदका प्रमुख प्रतिष्पर्धी नेता डा. शेखर कोइराला ‘प्यानल’को उम्मेदवार थिए ।

सो पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएअनुसार उपसभापतिका अर्का प्रत्यासी विजयकुमार गच्छदार दुई मतले मात्र पराजित भएका छन् । सभापति देउवा ‘प्यानल’का गच्छदारले १,९०६ मत प्राप्त गरेका छन् । समितिका अनुसार उपसभापतिका अन्य प्रत्यासी डा. चन्द्र भण्डारीले एक हजार ५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका छन् ।

कांग्रेसले विधानतः उपसभापतिको निर्वाचन पहिलोपटक गरेको हो । यसअघि उपसभापति मनोनीत हुने प्रावधान थियो । सोमबारको निर्वाचनको मतगणना बुधबार साँझदेखि सुरु भई आज बिहान १ बजे सम्पन्न भएको थियो । मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको हो ।

सोमबारको मतदानमा ४,७४३ मतदातामध्ये ४,६८९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो ।

उपसभापति पदको मतपरिणाम घोषणापछि अन्य पदाधिकारी र केन्द्रीय सदस्य पदको मतगणना सुरु गरिने बताइएको छ । केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्ता भएकाबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने हालको विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ ।