कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी



नेपाली कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । कुल ४,६८२ मत खसेकोमा थापालाई ३,०३३ र शर्मालाई १९८४ मत प्राप्त भएको छ । गगन थापालाई प्राप्त मत हालसम्म विजयी पदाधिकारीहरुलाई हासिलभएकोमध्ये सर्वाधिक हो ।

थापा शेखर कोइराला प्यानलबाट र शर्मा प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा उम्मेदवार रहेका थिए । गगनले भने मतगणनाको सुरुवाती चरणदेखि नै अग्रता लिएका थिए भने शर्मा र देउवा प्यानलका डो प्रकाशशरण महतबीचचाहिँ कडा प्रतिष्पर्धा भएको थियो।

प्रधानमन्त्री एवम् पार्टीसभापति शेरबहादुर देउवा प्यानका आधिकारिक उम्मेदवार भएर पनि महामन्त्रीका उम्मेदवार डा. महत र प्रदीप पौडेल विजयी बन्न सकेनन् । महतले १५५० र पौडेलले १४०९ मत हासिल गरे । यस्तै महामन्त्रीका अर्का उम्मेदवार डा. मीनेन्द्र रिजालले ८०९ मत प्राप्त गरे भने डा. राजाराम कार्कीलाई १०७ मत मात्र हासिल भयो । डा. कार्कीले महामन्त्रीमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

कांग्रेस विधानमा महाधिवेशनबाट दुईजना महामन्त्री निर्वाचित हुने व्यवस्था छ । कांग्रेसको १४ महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका हुन् । यसअघि सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन्।