कांग्रेस सहमहामन्त्रीमा उपाध्याय, परियार र आङ्दाम्बे विजयी

कांग्रेस सहमहामन्त्रीमा उपाध्याय, परियार र आङ्दाम्बे विजयी



नेपाली कांग्रेसको महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी बनेकी छन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत २७ गते भएको निर्वाचनको बिहीबार अबेर सम्पन्न मतगणनामा दुई हजार ५३३ मत ल्याएर महिलातर्फ सहमहामन्त्रीमा उपाध्याय विजयी बनेकी हुन् ।

उपाध्यायका निकटतम प्रतिस्पर्धी कमला पन्तलाई दुई हजार १०५ मत प्राप्त भएको छ । महिलातर्फ कूल चार हजार ६५० मत खसेकामा ५४ मत बदर भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

यसैगरी दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार विजयी बनेका छन् । उनी दुई हजार २१२ मत ल्याएर विजयी बनेका हुन् । उनका निकटतम प्रतिस्पर्धी मानबहादुर विश्वकर्माले दुई हजार १७५ र गङ्गा सुनारले २२९ मत प्राप्त गरेका छन् । दलिततर्फ कूल चार हजार ६७० मत खसेको थियो ।

यसैगरी, कांग्रेसको जनजाति क्लस्टरअन्तर्गत सहमहामन्त्रीमा भीष्मराज आङ्दाम्बे दुई हजार ७११ मतका साथ विजयी बनेका छन् । उनका निकटतम प्रतिस्पर्धी विकास लामाले एक हजार ९१३ मत प्राप्त गरे । आदिवासी जनजातीतर्फ कूल चार हजार ६८१ मत खसेको थियो ।

कांग्रेसको सभापतिबाहेकका पदाधिकारी र सदस्यको पार्टी केन्द्रीय कार्यालय सानेपामा मतगणना भइरहेको छ । कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ ।