महामारीसँग जुझ्न जापानले आईडीएलाई ३ अर्ब ४० करोड डलर प्रदान गर्ने

महामारीसँग जुझ्न जापानले आईडीएलाई ३ अर्ब ४० करोड डलर प्रदान गर्ने


  • जापान प्रतिनिधि

जापानले विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)लाई ३ खर्ब ७६ अर्ब ७० करोड येन (३ अर्ब ४० करोड डलर) प्रदान गर्ने भएको छ । कोरोना भाइरस महामारीको प्रभावबाट उम्किनका लागि गरिब देशहरुलाई मद्दत गर्न जापानले आईडीएलाई सो सहयोग गर्न लागेको हो ।

आईडीएले आफ्नो कोषलाई न्यून आय भएका ७४ देशहरुलाई खोप उपलब्ध गराउने, महामारीको बेलामा गुमेका जागिर सृजना गर्ने र जलवायु परिवर्तनसँग सम्बन्धित समस्याहरु समाधान गर्ने जस्ता काममा प्रयोग गर्ने बताइएको छ ।

‘विश्वले कोभिड-१९ को महामारीका कारण उत्पन्न अभूतपूर्व संकटको सामना निरन्तर गरिरहेको छ’- अर्थमन्त्री सुनिची सुजुकीले जापानले आयोजना गरेको दाताहरुको दुई दिने भर्चुअल बैठकमा भने। अहिले सारा विश्व एकजूट हुने समय भएको पनि उनले बताए । आईडीएका लागि विश्व बैंकले ९३ अर्ब डलरको पुनर्पूर्ति प्याकेजको घोषणा गरेको छ ।

सामान्यतः पुनर्पूर्ति प्याकेज आईडीएलाई हरेक तीन वर्षमा उपलब्ध गराइन्छ, तर महामारीका कारण कोषको रकम घट्दै गएपछि बैंकले अहिलेसम्मकै ठूलो प्याकेजको घोषणा गरेको थियो । सन् २०१९ मा दाताहरुले आईडीएलाई ८२ अर्ब डलर योगदान दिएका थिए । यसपटक जापान र अन्य दाताहरुले कूल २३ अर्ब ५० करोड डलर दान दिएका छन् ।

आईडीएको स्थापना सन् १९६० मा भएको थियो । यसले आर्थिक वृद्धि उकास्ने र गरिबी घटाउने परियोजनामा विश्वका गरिब देशहरुलाई अनुदानका साथै शून्य ब्याजदरमा आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ ।