नाटोका रक्षा मन्त्रीहरूको बैठक जनवरी १२ र १३ मा हुने

नाटोका रक्षा मन्त्रीहरूको बैठक जनवरी १२ र १३ मा हुने



उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो)को रक्षामन्त्रीहरूको सम्मेलन यही जनवरी १२ र १३ मा हुने भएको छ । नियमित यस सम्मेलन ब्रसेल्समा हुन लागेको नाटोका अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

दुईदिने त्यस सम्मेलनमा विषेश गरेर युक्रेनका बारेमा छलफल हुने पनि अधिकारीहरूले जनाएका छन् । ‘नाटोको उच्च सैन्य अधिकारीहरूको सम्मेलन यही जनवरी १२ देखि १३ तारिखसम्म बेल्जियमको ब्रसेल्समा गर्ने निर्णय भएको छ,’ सङ्गठनका एक अधिकारीले भने ।

सङ्गठनले आफ्नो वेबसाइटमा राखेको वक्तव्यका अनुसार नाटोका आगामी रणनीतिक योजनाहरूका बारेमा समेत सम्मेलनमा छलफल हुने एएनआईले जनाएको छ ।

नाटोको सुरक्षासम्बन्धी सल्लाह दिने मुख्य संयन्त्रको रूपमा रहेको रक्षा मन्त्रीहरूको सम्मेलनलाई महत्वका साथ हेरिएको छ ।

नाटोका रक्षा मन्त्रीहरूको बैठक हरेक वर्ष कम्तीमा तीन पटक बस्ने गरेको छ । त्यसमा नाटोले लिएका निर्णय र त्यसको कार्यान्वयनको अवस्थाका बारेमा समीक्षा गर्दै भावी योजना र रणनीतिहरूका बारेमा गम्भीर छलफल हुने गरेको छ ।