भीम रावललाई एमालेमा सल्लाहकारको जिम्मेवारी

भीम रावललाई एमालेमा सल्लाहकारको जिम्मेवारी



नेकपा (एमाले)ले पार्टीका निवर्तमान उपाध्यक्ष डा. भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद सदस्यको जिम्मेवारी दिएको छ । एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा केपी ओलीसँग प्रतिष्पर्धा गर्दै उम्मेदवारी दिएका रावल अध्यक्ष ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीविहीन हुन पुगेका थिए ।

अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्यको उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा डा. रावलले रुचि नदेखाएपछि केन्द्रिय कमिटीबाट बाहिर परेका उनलाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शङ्कर पोखरेलले जानकारी दिए । डा. रावललाई थप जिम्मेवारीका लागि अध्यक्ष ओली र स्वयम् रावलको परामर्शबमोजिम हुने स्पष्ट नेता पोखरेलको भनाइ छ ।

सो पार्टीको गत मङ्सिर २५ र २६ गतेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सल्लाहकार परिषद्को सल्लाहकारमा अमृतकुमार बोहरालाई चयन गरेको थियो ।

सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछिका केन्द्रीय कमिटीको बैठकका निर्णयमा रावलको जिम्मेवारी पनि परेको जनाइएको छ । अछामबाट प्रतिनिधिसभामा निर्वाचित डा. रावलले आफू पार्टीमै रहने र यहाँभित्र देखिएका कमजोरी सुधार्न लागिपर्ने जनाउँदै आएका छन् । गत मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको महाधिवेशनमा सर्वसम्मत नेतृत्व प्रस्तावअन्तर्गत उपाध्यक्ष पदमा निरन्तरता दिन बन्दसत्रमा अध्यक्ष ओलीले गरेको प्रस्तावमा रावल तयार नभएपछि निर्वाचन भएको थियो ।