तीन पर्यटकीयस्थलको त्रिकोणात्मक पर्यटन प्रवर्द्धन

तीन पर्यटकीयस्थलको त्रिकोणात्मक पर्यटन प्रवर्द्धन


  • तस्बिर रासस

नेपालका प्रमुख पर्यटकीय स्थलमा पर्ने तीन पालिका त्रिकोणात्मक पर्यटन प्रवर्द्धनमा लागेका छन् । चितवनको भरतपुर महानगरपालिका, कास्कीको पोखरा महानगरपालिका र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका त्रिकोणात्मक पर्यटन प्रवर्द्धनमा लागेका हुन् ।

भरतपुर महानगरपालिकाको अगुवाइमा भरतपुर, पोखरा, लुम्बनी स्वर्ण त्रिकोण प्रवर्द्धन कार्यक्रम अगाडि बढाईएको हो । महानगरपालिकाले भ्रमण वर्ष सन् २०२० को सन्दर्भमा लुम्बिनी र पोखराका पालिकासँग सम्झौतासमेत गरेको थियो । महानगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरेर महानगरको टुर प्याकेज घोषणासँगै स्वर्ण त्रिकोण गन्तव्य प्रवर्द्धन कार्यक्रमसमेत शुभारम्भ गरेको छ ।

महानगर प्रमुख रेनु दाहालले लुम्बिनी र पोखरा आउने पर्यटकलाई चितवन भित्र्याउन र यहाँ आएका पर्यटकलाई ती गन्तव्यमा पठाएर बसाई लम्ब्याउन कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । महानगरले पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार निर्माणमा ठूलो लगानी गरेको उहाँको भनाइ छ ।

महानगरको आफ्नोसँगै बागमती प्रदेश र सङ्घीय सरकारसँग सहकार्य गरेर पर्यटकीय गन्तव्यको भौतिक पूर्वाधार निर्माण र प्रवर्द्धनमा काम गरिरहेको उहाँले बताउनुभयो । महानगरभित्र महत्वपूर्ण ३० पर्यटकीय गन्तव्य रहेको भन्दै उहाँले यहाँ आउने पर्यटकले छ रात सात दिनसम्म बसेर घुम्न मिल्ने गरी प्याकेज तयार गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार प्याकेजमा जङ्गल सफारीदेखि नारायणी नदी सीबीच मोडल हुँदै धार्मिक क्षेत्र र पहाडी डाँडामा पदमार्गसमेत रहेका छन् ।

दाहालले नेपालकै पर्यटकीय दृष्टिले विविधता भरतपुर महानगरमा रहेको भन्दै सूर्योदयदेखि सूर्यास्तसम्म अवलोकन गरेर पर्यटक रमाउन सक्ने ठाउँहरु रहेको बताउनुभयो । भरतपुरको कविलासस्थित चौकीडाँडाबाट सूर्योदय अवलोकन गर्न सकिन्छ भने गोलाघाटबाट सूर्यास्तको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।

महानगरपालिकाले सार्वजनिक गरेको छ रात सात दिनको टुर प्याकेजमा ३० महत्वपूर्ण पर्यटकीय गन्तव्य समावेश गरिएका छन् । महानगरपालिकाका पर्यटन विज्ञ सल्लाहकार डा विश्वराज सुवेदीका अनुसार दुई रात तीन दिनका लागि निकुञ्ज तथा सामुदायिक वनमा जङ्गल, जीप, पैदल सफारीलगायतका क्रियाकलाप रहेका छन् । यस प्याकेजअन्तर्गत पर्यटक चितवन राष्ट्रिय निकुञ्ज र आसपासका सामुदायिक वनमा घुम्ने छन् ।

थप एक रात एक दिन बस्नुपर्दा धार्मिक तथा सांस्कृतिक सम्पदाको अवलोकन गराइने छ । जसमा गणेशधाम, बागेश्वरी, देवघाट, शिवघाट, विक्रम बाबालगायतका धार्मिक पर्यटकीय गन्तव्य घुमाइने छ । अर्को एक दिन र रात बस्ने पर्यटकका लागि मानव निर्मित आकर्षणको अवलोकन गराइने छ । बन्दै गरेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, दियालो बङ्गला, साना सङ्ग्रहालयलगायत पर्दछन् । अर्को एक रात र दिन बस्ने पर्यटकका लागि पहाडी क्षेत्रमा हाइकिङ तथा ट्रेकिङ गराइने छ । जसअन्तर्गत कविलासको ढोडेनी, चौकीडाँडालगायतका क्षेत्रमा पर्यटकलाई घुमाइने छ ।

सुविधाअनुसार छ रात र सात दिन बस्ने पर्यटकलाई सबै प्याकेजसँग थप राइनो, बीस हजारी, २८ हजार, सिमसारजस्ता तालमा पर्यटकीय गतिविधि गराइने छ । सुवेदीले भन्नुभयो, “यहाँ सात दिन घुम्ने पर्यटकले सबै आनन्द लिन सक्नेछन् ।” पर्यटन क्षेत्रमा यति धेरै विविधता जहाँतहीँ पाउन नसकिने सुवेदीको भनाइ छ ।

महानगरका उपप्रमुख पार्वती शाह ठकुरीले महानगरभित्रको मेघौली, पटिहानी, बीस हजारी ताल, देवघाट, ज्ञानेश्वर, नारायणी रिभर बीच र चौकी डाँडा सात पर्यटकीय विन्दुका रुपमा प्रचारप्रसार गरिँदै आएको बताउनुभयो । ती भित्र र बाहिरका अन्य महत्वपूर्ण ३० गन्तव्यलाई समावेश गरेर प्याकेज निर्माण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार पर्यटन प्रवर्द्धन महानगरको विशेष प्राथमिकताको क्षेत्रमा परेको छ ।

टुर प्याकेज घोषणा एवं स्वर्ण त्रिकोण गन्तव्य प्रवर्द्धन कार्यक्रमको शुभारम्भका अवसरमा प्रमुख जिल्ला अधिकारी आसमान तामाङ, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख काशीराज भण्डारी, उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठलगायतले यहाँको पर्यटकीय महत्व र तीन पालिकाबीचको पर्यटकीय सम्बन्धका बारेमा प्रकाश पार्नुभएको थियो ।

जिल्लाका सरोकारवालासँगै लुम्बिनी र पोखराबाट आएका पर्यटनसँग सम्बन्धित सहभागीले आज दिनभर महानगरका महत्वपूर्ण पर्यटकीय गन्तव्यको भ्रमण गर्नेछन् । यसपछि यहाँबाट ती दुई गन्तव्यमा अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ । लुम्बिनीमा वार्षिक र पोखरामा पनि ठूलो सङ्ख्यामा पर्यटक आउने गर्दछन् । चितवनमा जङ्गल सफारीका लागि दुई लाख हाराहारी पर्यटक वार्षिक रुपमा आउने गर्दछन् । यो सङ्ख्या बढाएर बस्ने अवधि थप गर्न महानगरपालिकाले महत्वपूर्ण दुई ठाउँलाई जोडेर पर्यटन प्रवर्द्धन का कार्यक्रम अघि बढाएको हो ।