जानाजान गराइएको आगलागी घटनामा २७ जनाले ज्यान गुमाएको आशंका

जानाजान गराइएको आगलागी घटनामा २७ जनाले ज्यान गुमाएको आशंका


  • जापान प्रतिनिधि

जापानको ओसाका शहरमा एक व्यापारिक भवनमा रहेको मेडिकल सेन्टरमा भएको आगलागीमा परेर त्यहाँ रहेका २७ जनाले ज्यान गुमाएको आशंका गरिएको छ ।

ओसाकाको एक भवनमा शुक्रबार बिहान जानाजान एक वृद्धले आगो लगाएको अग्नी नियन्त्रकहरू र प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

स्थानीय दमकल विभागले बिहान १०:४५ मा जेआर ओसाका स्टेसननजिकै रहेको आठ तले भवनको चौथो तल्लामा आगलागी भएको सूचना प्राप्त गरेको थियो । आगलागीमा परेर २८ जना गम्भीर घाइते भएको र त्यसमध्येका २७ जनालाई जीवित रहेको कुनै लक्षण नदेखिएको अवस्थामा उपचारको लागि अस्पताल पठाइएको बताइएको छ ।

करिव २० वर्ग मिटर क्षेत्रफलमा लागेको आगो करिब ३० मिनेटमा नियन्त्रणमा आएको अधिकारीहरुले बताएका छन् । चौथो तल्लामा रहेको मेडिकल क्लिनिकमा आगलागी भएको बताइएको छ । क्लिनिकको वेबसाइटमा उल्लेख भएअनुसार मनोवैज्ञानिक र मनोचिकित्सा उपचार हुने गर्दथ्यो । पश्चिमी जापानको किता वार्डमा रहेको भवनमा एक व्यक्तिले मट्टितेल छर्किएर आगो बालेपछि आगलागी भएको स्रोतले जनाएको छ ।

भवनको चौथो तल्लाबाट १७ जना पुरुष र १० जना महिलालाई जीवित रहेको जनाउने कुनै संकेत नदेखिएको अवस्थामा बाहिर निकालिएको अग्निनियन्त्रकहरूले उल्लेख गरेका छन् ।

६० वर्ष पुगेका व्यक्तिले बोकेको कागजको झोलाबाट निस्केको तरल पदार्थबाट आगो सुरु भएको पनि प्रहरीले जनाएको स्रोतको भनाइ छ ।

यो घटना ओसाकाको किताशिन्ची जिल्लामा भएको हो जहाँ धेरै बार र नाइट क्लबहरू रहेका छन् । करिब ७० वटा दमकल र एम्बुलेन्सको मद्दतले आगो नियन्त्रणमा लिएर उद्दार गरिएको प्रहरीले बताएको छ ।