एमसीसीबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान !

एमसीसीबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान !


file photo

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गरेका छन् । सत्ता-गठबन्धनका एक नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आग्रहमा प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

संसदमा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाए पनि बैठकको उद्देश्य खास रहेको अनुमान गरिएको छ । सर्वाधिक चासो र चर्चामा रहेको ‘एमसीसी’बारे बैठकमा छलफल हुने बालुवाटारनिकट स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्रीको सचिवालयले सर्वदलीय बैठक आइतबार अपराह्न ४ बजे बस्ने जनाएको छ । बैठकमा संसदमा सहभागी सबै दलका शीर्ष नेताहरूलाई बोलाइएको छ । तर, एमालेले बैठकमा सहभागिता नजनाउने बुझिएको छ । अवैधानिक तवरले दलको रुप लिएको नेकपा एकीकृत समाजवादीलाई समेत बैठकमा आमन्त्रण गरिएकोप्रति आपत्ति जनाउँदै एमालेले सर्वदलीय बैठक बहिष्कार गर्न लागेको हो ।