६ महिनाभित्र राप्रपालाई शक्तिशाली बनाउने अध्यक्ष लिङ्देनको अठोट

६ महिनाभित्र राप्रपालाई शक्तिशाली बनाउने अध्यक्ष लिङ्देनको अठोट


file photo


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दूराज्य चाहिन्छ भन्ने समुदायलाई समेटेर आगामी ६ महिनाभित्र पार्टीलाई शक्तिशाली बनाउने दाबी गरेका छन् । शनिबार झापाको विर्तामोडमा पार्टीको जिल्ला कार्य समितिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा पार्टीका नवनिर्वाचित अध्यक्ष लिङ्देनले परिवर्तन र विकास चाहने ठूलो पङ्क्तिको अपेक्षा राप्रपासँग भएको दाबी गर्दै पार्टीलाई आगामी आमनिर्वाचनबाट मुलुककै अग्रणी शक्तिको रुपमा स्थापित गरेर देखाउने अठोट गरे ।

कुर्सीमा बस्ने लोभ र महत्वाकांक्षाले नभएर मुलुकमा परिवर्तन ल्याउने हिम्मत बोकेर पार्टीको अध्यक्ष बनेको जिकिर गर्दै उनले राप्रपाले सदन र सडक दुवैबाट आफ्नो आवाज उठाउने र जुन बाटोबाट छिटो उपलब्धि हुन्छ त्यही मार्ग लिने खुलासा गरे ।

राप्रपाको हालै सम्पन्न महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि लिङ्देन पहिलोपटक गृहजिल्लामा पुगी कार्यकर्तालाई सम्बोधन गरेका हुन् । उनले विगतमा कांग्रेस र कम्यूनिस्टलाई समेत मिलाएर हिँडेको स्मरण गर्दै पार्टीको आन्तरिक चुनावमा कसले कसलाई भोट दिएको भनेर आफूबाट कसैप्रति पनि पूर्वाग्रह नराख्ने प्रतिबद्धता जनाए । उनले भने- ‘म सानो चित्तले राजनीतिमा आएको होइन, कसैले उपेक्षित भएर पार्टी फुटाएर जानुपर्ने स्थिति बन्न दिइने छैन । हामीले गर्नुपर्ने काम अरु नै छ, पार्टीभित्र क्षमता र दक्षताका आधारमा नेता र कार्यकर्तालाई काम दिनेछु ।’