धनुषाका नेताहरूको नाममा…

धनुषाका नेताहरूको नाममा…


गत सोमबार जनकपुरमा रिक्सामा चढेर हिँडिरहेका बेला सुरक्षाकर्मीसहितको एक हुल गाडीको लहर धुलो उडाउँदै अगाडि बढ्यो । रिक्सावालालाई सहरमा को आएको छ ? यो कसको गाडी रहेछ ? भनेर सोध्दा ‘खै कुनै नेता होला नि, जनकपुरका नेता धेरै छन्, दिनैपिच्छे कोही न कोही आइरहन्छन्, थाहै हुँदैन, कहिलेकाहीँ त दिनमा चार-पाँचजना नेता आइरहेका हुन्छन् । अहिले त यो क्षेत्रका मन्त्री धेरै छन् थाहा नै हुदैन’ भने । यहाँका सभासद् त धेरै छन् नि, अहिले प्रधानमन्त्री बाबुराम भट्टर्राईबाहेक अन्य ठूला नेताहरू यतैका त हुन् नि, शायद यो उनको गौरव नै थियो । वरिपरि नालीमा भरिएको फोहोर र दुर्गन्धबीच खाल्टाखुल्टी परेको कच्चीबाटोमा उनी घद्रयाक-घद्र्रयाक गर्दै रिक्सा तानिरहेका थिए । यी नेताहरूबाट तपाईंलाई के आशा छ त ? के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ? भनेर सोध्दा म रिक्सा चलाउने मान्छे मलाई के चाहिन्छ र ? धेरै वर्ष भो यस्तो अप्ठ्यारो बाटोमा रिक्सा चलाएको, यही जुनीमा अलि राम्रो बाटोमा रिक्सा चलाउन पाए हुन्थ्यो भने । उनी यस्तो कुराको चाहना गरिरहेका थिए जुन सबैलाई काम लाग्न सक्थ्यो । एउटा कुरा अचम्म छ, पढे-लेखेर या संसार देखेर मानिस सभ्य बन्छ, सार्वजनिक हितमा काम गर्छ भन्ने मान्यता राखिन्छ तर हिजोआज यसको ठीक उल्टो भएको छ । कुनै नेतागिरी गरिरहेको या जागिर खाइरहेेको मानिसलाई यही प्रश्न गरिएको भए शायद उसले भन्ने थियो- मेरा छोराछोरीलाई जागिर या कमाइ-धमाइका लागि केही ठाउँ, सोही कामका लागि कसैलाई भनसुन या यस्तै केही । तर, बिहान-बेलुका कमाएर खानुपर्ने यी मजदुर भनिरहेका थिए- जनकपुर बजार र यसको वरिपरिको बाटो पिच भइदिए हुन्थ्यो, यही जुनीमा चिल्लो सडकमा रिक्सा चलाउन पाए हुन्थ्यो । अघिल्लोपल्ट जनकपुर पुग्दा सुरक्षाकर्मीको स्कर्टिङसहितको गाडीले धुलो उडाउँदै हिँड्दा शरीरमा लगाएको लुगा पूरै धुलाम्य मात्र भएन बाटामा हिँडिरहेको साइकललाई गाडीको लहरले ठक्कर दिनबाट अलिकतिले मात्रै बचेको थियो । साइकलवाला हुत्तिएर छेउतिर नलागेका भए सो दिन एक स्थानीयको ज्यान जाने थियो । यसो गाडीभित्र हेरेको उपराष्ट्रपति परमानन्द झा रहेछन् । धुलो उडाउँदै र साइरन बजाउँदै उनको गाडी होटल मानकी भित्र छिर्‍यो । त्यसअघि नेता महन्त ठाकुर र हृदयेश त्रिपाठीको गाडी उस्तै शैलीमा सडकमा गुडेको देखिएको थियो ।
नेपालको पवित्र धर्मस्थलसमेत रहेको जनकपुरधाम धार्मिक पर्यटन स्थलसमेत हो, जहाँ लाखौँ मानिस जानकीको माइतीस्थलको एउटा छवि मनमा राखेर आउँछन् । तर, यो पवित्रस्थल रहेको सहरभित्र छिर्नासाथ उकुस-मुकुसझैं हुन्छ । जहाजमा जानेले एयरपोर्ट ओर्लिनासाथ खाल्डैखाडासहितको फराकिलो कच्ची बाटो हुँदै सहर पस्नुपर्छ । सडक भएर के गर्नु, सवारी साधन भएर के गर्नु त्यो रिक्सामा चढेर कच्ची सडक पार गर्दै बजारसम्म पुग्दा जीउ थिलथिलो हुन्छ । रिक्सामा बस्नेलाई त त्यस्तो हुन्छ, चलाउनेलाई कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । धनुषा बजार क्षेत्रको यो दुरावस्था अहिलेको होइन, वर्षौं भयो जस्ताको तस्तै छ, अलि ब्रि्रएको होला बनेको छैन । चोक, गल्लीमा फोहोर, नालीमा जमेको दुर्गन्धित पानी र खाल्डाखुल्डीले भरिएका धुलाम्य सडकमा हिँडिरहेका निरीह नागरिककाबीच सरकारी गाडीका लहर गुडाउँदै हिँड्दा त्यहाँका नेतालाई अलिकति पनि ग्लानि नहुनुलाई आर्श्चर्यजनकभन्दा पनि उनीहरूका मजबुत मन र मुटुको परिणामको रूपमा लिनुपर्छ होला । सामान्य नेपाली मन भएका कुनै पनि नागरिकका लागि त्यसप्रकारको परिस्थिति र व्यवहार ग्लानिपूर्ण मात्र नभएर लज्जास्पद पनि हुन्छ । जनकपुरको अवस्था हेर्दा जोकोहीको मनमा केही प्रश्नहरू खडा हुन्छन्- के त्यहाँको नगरपालिकामा कुनै बजेट छैन ? धनुषाको नाममा सभासद्हरूले आफ्नो क्षेत्रका लागि खर्च गर्न भनेर लिएको पैसा कहाँ लगे ? मधेसका नाममा राजधानीमा अनेकौँ चर्चा गरेर नथाक्ने त्यहाँका नेताहरूका लागि आफ्नो क्षेत्र सफा र राम्रो राख्नु नैतिक कर्तव्य होइन ? मधेसकै मात्र नगरपालिकाहरू, सहरहरू किन सफा बन्न सक्दैनन् ? सडक सुविधा, स्वास्थ्य, शिक्षालगायतका धेरै कुराको पूर्वाधार बनिसकेको तर्राई किन यति निरीह छ ? जनकपुर, वीरगञ्ज, नेपालगञ्ज, विराटनगरभन्दा धेरै पछि बनेका सहरहरू हेटौंडा, इटहरी, धरानहरू त्यति सफा हुँदा आफ्नै इतिहास बोकेका ती सहरले चाहिँ किन कहिल्यै काँचुली फर्ेन सकेनन् ? तिनै सहरका नाममा धेरै नेता बने तर ती सहर किन सहरजस्ता बन्न सकेनन् –
जनकपुर मधेसको एउटा भाग मात्र होइन नेपाल राष्ट्रको एउटा ऐतिहासिक, धार्मिक सहर हो । जनकपुर हामी सबै नेपालीको प्यारो मातृभूमिको एउटा चर्चित भाग हो यस अर्थमा यो सहर बनाउने जिम्मा हामी सबैको हो, तर धनुषाकै नेता गुहार्नुपर्ने कारणचाहिँ के हो भने विकास बजेट उनीहरूको हातमा छ, जिविसको बजेट होस् या नगरपालिकाको या सभासद्ले लिने गरेको क्षेत्र विकास कोषको पैसा उनीहरूसँगै छ । स्थानीयस्तरमा गएको बजेट स्थानीय राजनीतिक संयन्त्रको हातमा छ, केन्द्रबाट जाने बजेट केन्द्रीय नेताहरूको तजविजमा छ । सोही क्षेत्रको नाममा, सोही जिल्लाको नाममा उनीहरू देशको ढिकुटी खर्च गरिरहेका छन्, यो मुलुक बनाउने कुरा गरिरहेका छन् त्यसैले यो उनीहरूको कर्तव्यको कुरा हो । आफूलाई भोट दिएर नेता बनाउने जनताका लागि, आफ्नो ठाउँका लागि त्यति एउटा बाटो बनाउन नसक्ने, आफ्नो सहर सफा राख्न अलिकति पनि पहल गर्न नसक्नेले देश बनाउने कुरा गर्दा पत्याउन गाह्रो हुन्छ । हामी यो देशका सामान्य नागरिक मात्रै हुनुको अर्थमा पनि एयरपोर्टबाट उत्रिएर खाल्डाखुल्डी सडकमा धुलो उडाउँदै हिँड्दा कति ग्लानि हुन्छ, बाटोमा उभिने मानिसहरू, वरिपरि खेलिरहेका बच्चाहरूको शरीर र मुहारभरि धुलो फाल्दै हिँड्दा आफूलाई अपराधीझैं अनुभव हुन्छ भने त्यहाँका नेताहरूलाई किन ग्लानि नभएको ? जुनसुकै पार्टीका भए पनि र स्थानीय वा केन्द्रीय जुनसुकै तहका भए पनि धनुषाका नेताहरू आफ्नो जन्मस्थलप्रति अलिकति दया गरेर कृपया सहरको विकासमा ध्यान दिनुस् । आफ्नो सहर त्यस्तो छ, स्थानीयवासीहरूलाई उकुसमुकुस छ, सडक त्यस्तो छ, तपाईंहरू आफू मात्रै बनेर के गर्नु ? तपाईंहरूको पजेरो र ल्यान्डक्रुजरलाई त्यति अप्ठ्यारो नहोला तर स्थानीयवासीहरूको यातायात रिक्सा चल्न धेरै गाह्रो छ । त्यसैले पहिला आफ्नो सहर बनाउनुस्, मुलुक विस्तारै बन्दै जाला ।