एमसीसीबारे कतिपयले नबुझेर टिकाटिप्पणी गरेको उपाध्यक्ष पाण्डेको टिप्पणी

एमसीसीबारे कतिपयले नबुझेर टिकाटिप्पणी गरेको उपाध्यक्ष पाण्डेको टिप्पणी


file photo


नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले बिनाशर्त कुनै पनि सहायता नपाइने तर्क गरेका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जुनसुकै देश वा दाताले दिने सहायतामा शर्त हुने गरेको स्पष्ट पारेका हुन् ।

पूर्व अर्थमन्त्रीसमेत रहेका नेता पाण्डेले एमसिसिका सन्दर्भमा सोधिएको प्रश्नमा सहायता र ऋणमा पनि सर्त हुने जिकिर गरे । उनले भने, ‘कतिपयले नबुझेर टिकाटिप्पणी गरेका छन्, सहायता र ऋण बिनाशर्त आउँदैन ।’

अन्य विभिन्न देशबाट ऋण र अनुदान लिँदा सम्बन्धित ठेकेदारलाई ठेक्का दिने गरी लिने गरेको उनको भनाइ छ । पूर्वअर्थमन्त्री पाण्डेले सहायता प्राप्त गर्ने विधि थाहा नहुँदा धेरैलाई बिनाशर्त आउँछ भन्ने भान परेको बताए ।

एमसीसीमा पनि शर्त रहेको भन्दै उनले ती शर्त देशको हितमा छ भने मान्न पर्ने र हितमा छैनन् भने मान्न नहुने धारणा राखे । एमसीसीको विषयमा टिप्पणी गर्दै पाण्डेले रकम ठूलो कुरा नभए पनि यो राजनीतिक सम्बन्धमा गयो भने गम्भीर समस्या ल्याउन सक्ने उल्लेख गरे ।

अमेरिकासँगको सम्बन्ध अरुको जस्तो थप जटिल बनिदियो भने भविष्यमा वैदेशिक सहायता वा ऋणको पक्ष कमजोर बनेर जान सक्ने उनको चिन्ता थियो । यस्तो परिस्थितिमा बुद्धिमत्तापूर्ण ढङ्गले समस्याको सम्बोधन गर्नुपर्ने पाण्डेको भनाइ छ । यद्दपि सरकारले जिम्मेवार बनेर काम गर्न नखोजेको उनको आरोप थियो ।

देशमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकासँगै अर्थतन्त्रमा जटिल समस्या देखिएको भन्दै नेता पाण्डेले यसको समाधान निर्वाचन नै भएको दाबी गरे ।