३५ वर्षीय विद्यार्थी नेता चिलीका राष्ट्रपति निर्वाचित

३५ वर्षीय विद्यार्थी नेता चिलीका राष्ट्रपति निर्वाचित



ल्याटिन अमेरिकी मुलुक चिलीमा ३५ वर्षका विद्यार्थी नेता राष्ट्रपतिमा निर्वाचित भएका छन् । आन्दोलनकारी कम्युनिष्ट नेताका रुपमा चर्चित गेब्रियल बोरिक चिलीको सबैभन्दा कान्छो राष्ट्रपतिका रुपमा निर्वाचित भएका हुन् । कूल मतको ५६ प्रतिशत मत पाएर उनी निर्वाचित भएपछि अहिले देशभरी खुशीयाली छाएको र दशौँ हजार मानिसले विजय जुलुश निकालेको विदेशी सञ्चार माध्यमहरुले जनाएका छन् ।

उनका प्रतिद्वन्द्वी तथा पुरातनवादी पार्टीका नेता जोस एन्टेनियो कास्टले भने ४४ प्रतिशत मात्रै मत पाएका थिए । दुई जनाको बीचमा १२ प्रतिशत मताअन्तर थियो । विश्वविद्यालयको शिक्षा निःशुल्क हुनुपर्ने मागसहित सन् २०११÷१२ मा विद्यार्थीहरुले गरेको आन्दोलनमा उनीमुख्य आन्दोलनकारी रहेका थिए ।
त्यसपछि सन् २०१३ मा भएको तल्लो सदनको निर्वाचनमा उनले स्वतन्त्र उम्मेदवार बनेर जित हासिल गरेका थिए ।

त्यसैगरी सन् २०१७ मा पनि उनी सबैभन्न्दा धेरै मतसहित विजयी बनेका थिए । अहिले फेरि सरकारविरुद्ध भएको ब्यापक प्रदर्शनपछि राष्ट्रपतीय निर्वाचन भएको हो । निर्वाचनका बेलामा आफू निर्वाचित भएमा चिलीमा स्थिर अर्थव्यबस्था अवलम्बन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।