बेलायतमा ओमिक्रोनबाट अहिलेसम्मकै धेरै सङ्क्रमित

बेलायतमा ओमिक्रोनबाट अहिलेसम्मकै धेरै सङ्क्रमित



बेलायतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनबाट एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् ।

त्यहाँका सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएअनुसार पछिल्लो २४ घण्टामा १२ हजार १३३ जना ओमिक्रोनबाट सङ्क्रमित भएका छन् । योसँगै बेलायतमा ओमिक्रोनबाट कूल सङ्क्रमितहरुको सङ्ख्या ३७ हजार १०१ पुगेको छ ।

त्यसैगरी कोरोना भाइरसबाट चाहिँ एकैदिनमा ८२ हजार ८८६ जना सङ्क्रमित भएका छन् । बेलायतमा कोरोनाबाट अहिलेसम्म सङ्क्रमितहरुको सङ्ख्या एक करोड १३ लाख ६१ हजार ३८७ पुगेको जनाइएको छ । यसअघि गत शनिबार एकैदिन ९० हजारभन्दा बढी सङ्क्रमित भएका थिए । बेलायतमा पछिल्लो समय कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक धेरै भएको छ ।

बेलायतमा एकैदिनमा अहिलेसम्म सवैभन्दा धेरै ९३ हजार ४५ जना सङ्क्रमित भएका थिए । त्यसपछि भने घट्दै गएको छ । सङ्क्रमित भएकाहरुको सङ्ख्याको तुलनामा मृत्यु भएकाहरुको सङ्ख्या भने सामान्य नै देखिएको छ । पछिल्लो एक दिनमा कोरोनाका कारण ४५ जनाको मृत्यु भएको छ ।
बेलायतमा कोरोनाका कारण अहिलेसम्म एक लाख ४७ हजार २१८ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ ।