नेका (महिला खुला)को मतपरिणाम सार्वजनिक, डीलालाई सर्वाधिक मत

नेका (महिला खुला)को मतपरिणाम सार्वजनिक, डीलालाई सर्वाधिक मत



नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा गत मङ्सिर २७ गते भएको निर्वाचनअन्तर्गत केन्द्रीय सदस्य (महिला खुला) नौ सिटको मतपरिणाम सार्वजनिक भएको छ ।

मतपरिणामअनुसार डा. डिला सङ्ग्रौला पन्तलाई २,८८५, पुष्पा भुसाललाई २,७१८, डा. आरजु राणा देउवालाई २,५३६, अम्बिका बस्नेतलाई २,३३९, ईश्वरी न्यौपानेलाई २,२५९ मत प्राप्त भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

यसैगरी, सरिता प्रसाईं २,०९६, रमा कोइराला पौडेल १,८५८, शुसीला ढकाल आचार्य १,८०४ तथा रङ्गमती शाही १,७८९ मत प्राप्त गरी निर्वाचित भएका छन् । पार्टीको विधानअनुसार केन्द्रीय सदस्य (महिला खुला) नौ सिटका लागि भएको निर्वाचनमा ३० जनाले उम्मेदवारी दिएका थिए ।

महाधिवेशनमा भएको पदाधिकारी र खुला सदस्यलगायतको निर्वाचनको मतपरिणाम यस अघि नै सार्वजनिक भइसकेको छ भने बाँकी मतदानको परिणाम आउने क्रम जारी छ ।