अन्तरिक्षको १२ दिवसीय यात्राबाट फर्किए जापानी गैरअन्तरिक्षयात्री

अन्तरिक्षको १२ दिवसीय यात्राबाट फर्किए जापानी गैरअन्तरिक्षयात्री


  • विशेष प्रतिनिधि, जापान

जापानी व्यवसायी युसाका माएजावा अन्तरिक्ष यात्रा पूरा गरेर पृथ्वीमा फर्किएका छन् । आफ्नो १२दिवसीय अन्तरिक्ष यात्रा सम्पन्न गरी उनी सोमबार पृथ्वीमा फर्किएका हुन् ।

रुसी यानबाट माएजावा डिसेम्बर ८ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)तर्फ उडेका थिए । आईएसएसमा बस्ने उनी पहिलो जापानी गैरअन्तरिक्षयात्री हुन् । उनी सवार विमान जापानी समयअनुसार दिउँसो १२ः१५ बजे काजकस्तानमा अवतरण गरेको थियो । उनी आईएसएसबाट विमानमा बिहान करिब ५ बजे सवार भएका थिए । विमान आईएसएसबाट बिहान करिब ९ बजे छुट्टिएको थियो ।

माएजावासमेत अन्तरिक्ष विमानमा रहेका सबै जना सुरक्षित र सकुशल भएको नासाले बताएको छ । माएजावाको साथमा उनका एक सहायक कम्पनीका कार्यकारी ३६ वर्षीय हिरानो योजो र रुसी अन्तरिक्ष यात्री अलेक्जान्डर मिसुर्किन पनि थिए । यस यात्राका लागि माएजावा र हिरानोले करीब सय दिन तालिम लिएका थिए । यसका लागि उनले करिब १० अर्ब येन (८ करोड ८० लाख डलर) खर्च गरेको बताइएको छ ।