गण्डकीका मुख्यमन्त्री पोखरेल कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

गण्डकीका मुख्यमन्त्री पोखरेल कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित



गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको मङ्गलबार (६ पुस) राति सार्वजनिक मतपरिणामअनुसार मुख्यमन्त्री पोखरेलले २,३०६ मत ल्याई विजयी बनेका हुन् ।

गण्डकी प्रदेशको खुलातर्फको दुई पदमा मुख्यमन्त्री पोखरेलसँगै तनहुँका ध्रुव वाग्ले निर्वाचित भएका छन् । वाग्लेलाई २,७२० मत प्राप्त भएको छ ।

यस्तै शोभियतबहादुर अधिकारीले २,०३४ र रेशमबहादुर बानियाँले १,९३८ मत प्राप्त गरेका कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । केन्द्रीय सदस्य महिलातर्फ सरस्वती अर्याल तिवारी निर्वाचित भएकी छन् ।

यसअघि कांग्रेसको सहमहामन्त्रीमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही पराजित भएका थिए । उनलाई बद्री पाण्डेले पिछडिएको क्षेत्रअन्तर्गत सहमहामन्त्री पदमा पराजित गरेका थिए ।

निर्वाचित भएपछि मुख्यमन्त्री पोखरेलले अहिलेको महाधिवेशनको म्यान्डेट नै युवापुस्तालाई अगाडि बढाउने रहेकाले युवापुस्ता र पुराना पुस्ताबीचको अन्तरसंवाद कायम गरी अनुभव र सिकाइलाई हस्तान्तरण र पुस्तान्तरण गर्न लागिपर्ने अभिइक्ति दिएका छन् । पार्टीलाई आगामी निर्वाचनमा बहुमत दिलाउन र हिमाल, पहाड तथा तराईका समग्र कार्यकर्तामा रक्तसञ्चार गर्न लागिपर्ने प्रतिबद्धता उनको छ । मुख्यमन्त्री पोखरेल यसअघि पार्टीको १२औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।