कांग्रेस महाधिवेशन : लुम्बिनीमा कँडेल, केसी र खड्का निर्वाचित

कांग्रेस महाधिवेशन : लुम्बिनीमा कँडेल, केसी र खड्का निर्वाचित



नेपाली कांग्रेसको केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश) पदको मतपरिणाम सार्वजनिक भएको छ । पार्टीको १४औं महाधिवेशनअन्तर्गत गत मङ्सिर २७ गते दुई पदका लागि भएको मतदानको मङ्गलबार राति सार्वजनिक मतपरिणामअनुसार केन्द्रीय सदस्यमा देवेन्द्रराज कँडेल २,७२७ तथा चन्द्रबहादुर केसी २,२६७ मत प्राप्त गरी विजयी बनेका छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार महेन्द्रकुमार शर्माले १,७७३, लेखनाथ पोखरेलले १,५२७, प्रदीपराज शर्माले ४२३ र बमबहादुर डिसीले २५२ मत प्राप्त गरेका छन् ।

यसैगरी केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश) महिलातर्फ शिला शर्मा खड्का २,६७३ मत प्राप्त गरी विजयी बनेकी छन् भने रीता सेन ओलीलाई १,४६३ र भगवती काफ्ले (भण्डारी)लाई ४१४ मत प्राप्त भएको निर्वाचन समितिले जनाएको छ ।