file photo
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँचवर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको जनाएका छन् ।
स्थानीय सरकार रिक्त रहने विषय कल्पनासमेत गर्न नसकिने र उहाँहरुको अवधि थप गर्ने व्यवस्था अहिलेको मितिसम्म नभएका कारण वैशाखभित्र नै तोकिएको समयमा निर्वाचन गर्न आयोग गम्भीर रहेको थपलियाको भनाइ छ ।
छिट्टै नै स्थानीय तहको निर्वाचनको मिति तय गर्नका निम्ति सरकारसमक्ष सिफारिस गर्ने आयोगले तयारी गरिरहेको र त्यसपछि २०७९ फागुनभित्र सबै प्रदेशको प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रपति, उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न गरेर नयाँ जनप्रतिनिधि तथा नयाँ नेतृत्व सुम्पने कार्यमा आयोग प्रवेश गरिसकेको उल्लेख गर्दै प्रमुख आयुक्त थपलियाले त्यसका लागि निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययीरुपमा कार्य गर्न आयोगलाई सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह गरे ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले अब आउने निर्वाचन लैङ्गिक एवं समावेशी दृष्टिकोणले उपयुक्त हुने बताए । निर्वाचन आयोगले काभ्रेपलाञ्चोकको धुलिखेलमा आजदेखि सुरु भएको दुईदिने ‘निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी महिला पत्रकारसँग कार्यशाला गोष्ठी’मा उनले निर्वाचन आउनै लाग्दा महिला पत्रकारलाई राखेर विभिन्न विषयमा छलफल गर्न लागिएको जानकारी दिए ।
गोष्ठीमा छापा र टेलिभिजनलगायतका सञ्चारमाध्यममा कार्यरत २६ महिला पत्रकारको सहभागिता छ । गोष्ठीमा निर्वाचन चक्र र निर्वाचन प्रक्रिया, नेपालमा आमसञ्चारको अवस्था, मिडिया साक्षरता र निर्वाचनको रिपोर्टिङ, निर्वाचन, निर्वाचन आयोग र आमसञ्चार व्यवस्थापन, निर्वाचनमा आमसञ्चारको अनुगमन र नियमन, निर्वाचन व्यवस्थापनमा लैङ्गिकता तथा समावेशीता, निर्वाचनमा सामाजिक सञ्जाल उपयोग, चुनौती र अवसर, अप्ठ्यारो अवस्थामा निर्वाचनको रिपोर्टिङ र डिजिटल युगमा निर्वाचन तथा मिडियाका विषयमा छलफल हुने आयोगले जनाएको छ ।
प्रतिक्रिया