एमसीसी सम्झौताबारे कार्यदलको बैठकमा प्रारम्भिक छलफल

एमसीसी सम्झौताबारे कार्यदलको बैठकमा प्रारम्भिक छलफल



संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे टुङ्गोमा पुग्न गठित सत्तारूढ गठबन्धनको कार्यदलको पहिलो बैठक बुधबार बसेको छ । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल निवास डल्लुमा बसेको बैठकमा सम्झौताबारे प्रारम्भिक छलफल सुरु भएको हो ।

कार्यदलका सदस्य एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार प्रारम्भिक छलफल सकारात्मकरूपमा अगाडि बढेको छ । सत्तारुढ गठबन्धनका दलहरूले एमसीसीबारे अन्य दलसँग छलफल गर्न र टुङ्गोमा पुग्न तीन सदस्यीय कार्यदल बनाएका थिए । कार्यदलमा एकीकृत समाजवादीका नेता खनाल, नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ र सूचना तथा सञ्चार प्रविधिमन्त्री कार्की रहेका छन् ।

कार्यदलले संसद् बैठक सञ्चालन गर्नेदेखि संसदमा विचाराधीन विभिन्न विषय अगाडि बढाउने सम्बन्धमा दलहरूसँग आवश्यक परामर्श र छलफल गर्ने कार्यादेश दिइएको थियो ।

ज्ञातव्य छ, एमसीसीको विषयमा सत्ता गठबन्धनबीच असमझदारी बढेको र गठबन्धनको भविष्यमाथि नै बादल मडारिएको चर्चाले यतिबेला राजनीतिक वृत्त तातेको छ ।