पाँच जना निर्विरोध निर्वाचित
नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज बिहानदेखि मतदान हुँदैछ । बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाईमा ढिलाइ भएको भन्दै निर्वाचन समितिले बुधबार साँझ मतदान प्रक्रिया स्थगित गरी आज मतदान गर्न लागेको हो ।
जनकपुरधामस्थित गोपाल धर्मशालामा मतदान हुने कार्यक्रम तय भएको जानकारी दिँदै निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले सहमतिमा नेतृत्व टुङ्गो लगाउने प्रयास असफल भएपछि दुई समूह छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका बताए ।
संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्ण यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने अर्को पक्षले कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ । कूल ७२ पदका लागि १७४ ले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । त्यसमध्ये पाँच सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् भने ६ उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका छन् । प्रदेशका आठ जिल्लाका ६४ प्रदेश निर्वाचन क्षेत्रबाट २५ गरी दुई हजार मतदाता रहेको जनाइएको छ ।
पाँच जना निर्विरोध
प्रदेश नं २ को राजधानी जनकपुरधाममा जारी नेपाली कांग्रेस प्रदेश नं २ को अधिवेशनमा पाँच सदस्य निर्विरोध निर्वाचित भएका छन् । प्रदेश निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावलीअनुसार पाँच समस्य निर्विरोध निर्वाचित भएका हुन् । प्रदेश सदस्य खुल्लामा सप्तरी जिल्लाबाट आशाराम चौधरी निर्विरोध बनेका छन् ।
महिला सदस्यमा सप्तरीकी विमलादेवी साह, महोत्तरीकी उषा देवकोटा र पर्साकी किरणकुमारी शर्मा पनि निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक गौतमले जानकारी दिए । प्रदेश सदस्य आदिवासी जनजातिबाट मनमाया तामाङ्नी निर्विरोध निर्वाचित भएकी छन् । उक्त पदमा उम्मेदवारी दिएकी रत्ना लामाले उम्मेदवारी फिर्ता लिएपछि तामाङ्नी निर्विरोध निर्वाचित भएकी बताइएको छ ।
प्रतिक्रिया