बिहीबार थप २९३ मा कोरोना सङ्क्रमण, दुई जनाको मृत्यु

बिहीबार थप २९३ मा कोरोना सङ्क्रमण, दुई जनाको मृत्यु



नेपलमा बिहीबार थप २९३ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा ११ हजार ६२६ को पीसीआर परीक्षण गरिएको थियो ।

योसँगै नेपालमा पीसीआर परीक्षण गरिएका सङ्क्रमितको सङ्ख्या आठ लाख ६५ हजार ६६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या ९६ हजार ९२ पुगेको छ । पछिल्लो समय थप २६३ कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख नौ हजार ९२२ पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ५८१ पुगेको छ ।

कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ । त्यसैगरी, पछिल्लो समय दुई लाख ८२ हजार ६४१ ले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार १४१ छ ।

सुदूरपश्चिममा थप सात जनामा सङ्क्रमण

सुदूरपश्चिम प्रदेशमा बिहीबार थप सातमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ५६७ को नमूना परीक्षण गर्दा सात जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा पाँच र महाकाली अस्पतालमा दुई जनामा कोरोना पुष्टि भएको छ । यस्तै गएको २४ घण्टामा प्रदेशभर चार जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एकको पनि मृत्यु भएको छैन । यसअघि बुधबार यस प्रदेशमा नौमा सङ्क्रमण पुष्टि हुँदा पाँच जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ को ज्यान गइसकेको छ ।

मोरङमा सबैभन्दा बढी सङ्क्रमित

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश–१ को मोरङ जिल्लामा १५ जनामा कोरोना सङ्क्रमण भएको छ । सोमध्ये विराटनगर महानगरपालिकामा नौ जना छन् । सुनसरीमा दुई, झापा, भोजपुर र सङ्खुवासभामा एक/एक जना छन् ।

पीसीआरको आधारमा ४३७ को परीक्षण गर्दा २० र १०५ जनाको एन्टिेजन परीक्षण गर्दा एक जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा आजै नौ महिलासहित १८ कोरोना सङ्क्रमणमुक्त भएका छन् भने अहिले पनि प्रदेशमा ९८ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।