Representative image
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत दुम्कीबास बस्तीआसपास बाघ देखिएपछि यस क्षेत्रका बासिन्दा त्रसित भएका छन् ।
दुम्कीबास, बघुवन आसपासका क्षेत्रमा बाघ देखिएपछि गाउँपालिकाले बिहीबार एक सूचना जारी गरेर स्थानीयवासीलाई सतर्क रहन अपिल गरेको छ । दुम्कीबास, बघुवनसहित पूर्व–पश्चिम राजमार्गको अरुणखोला दुम्कीबास जङ्गल क्षेत्रमा समेत बाघ देखिएको स्थानीयवासीले बताएका छन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने यहाँ निकुञ्जबाट बाघ बस्ती आसपास आएको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीको भनाइ छ ।
गत महिनामात्रै विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी सामुदायिक वनका हेरालु ६१ वर्षीय जीतबहादुर विकको बाघको आक्रमणका कारण मृत्यु भएको थियो । अहिले फेरि जङ्गल छेउछाउका बस्ती आसपास बाघ देखिएकाले आफूहरूले रातिको समयमा वन क्षेत्र नजिकका ठाउँमा हिँडडुल नगर्न, सकेसम्म एक्लै नहिँड्न सबैमा अपिल गरिएको गाउँपालिका अध्यक्ष जिसीले बताए ।
बाघले हालै मात्र मानवीय क्षति र पशु चौपायामा समेत क्षति पुऱ्याएको हुनाले गाउँपालिकाले यस क्षेत्रमा रहेको बाघको नियन्त्रण गरी निकुञ्जमा लैजान डिभिजन वन कार्यालयमार्फत गाउँपालिकाले पत्राचार गरिसकेको बताइएको छ । ‘बाघका कारण स्थानीयवासी त्रसित भएका छन्, नियन्त्रणका लागि हामीले डिभिजन वन कार्यालयमार्फत निकुञ्जलाई पत्राचार गरिसकेका छौँ, बाघ नियन्त्रणमा लिएर निकुञ्ज नलैजाने समयसम्म गाउँपालिकावासीलाई सतर्क रहन आग्रह गरेका छौँ’, अध्यक्ष जिसी बताउँछन् ।
विनयी त्रिवेणी गाउँपालिका, मध्यविन्दु नगरपालिका, कावासोती नगरपालिका, देवचुली नगरपालिकासहित गैँडाकोट नगरपालिकाको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएका बस्तीमा सधैँजसो वन्यजन्तुको त्रास रहने गर्दछ ।
प्रतिक्रिया